जोमसोम । मुस्ताङको सदरमुकाम जोमसोममा मङ्गलबारदेखि घरपझोङ जलवायु परिवर्तन सम्मेलन–२०८३ सुरु भएको छ। हिमालदेखि जनजीवनसम्म परेको जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न र अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउने उद्देश्यले सम्मेलन आयोजना गरिएको हो।
बुधबारसम्म दुई दिन सञ्चालन हुने सम्मेलनमा जलवायु परिवर्तनका कारण मुस्ताङसहित हिमाली क्षेत्रमा वातावरण, कृषि, पर्यटन, खानेपानी, पशुपालन तथा स्थानीय जनजीवनमा परिरहेको प्रभावबारे छलफल गरिने घरपझोङ गाउँपालिकाले जनाएको छ। जलवायु परिवर्तनका असर न्यूनीकरण, अनुकूलन तथा स्थानीय तहबाट अपनाउन सकिने उपायका विषयमा समेत सम्मेलनमा सरोकारवालाबिच अन्तर्क्रिया र छलफल हुनेछ।
पछिल्लो समय माथिल्लो मुस्ताङको मौसममा आएको परिवर्तन, हिमपातको समय र परिमाणमा देखिएको फेरबदल, अनियमित वर्षा तथा पानीका स्रोतमा आएको परिवर्तनले स्थानीय समुदायलाई असर पारिरहेको छ। जलवायु परिवर्तनको असर वातावरणमा मात्रै नभई कृषि प्रणाली, पशुपालन, पर्यटन र दैनिक जीवनयापनमा समेत देखिन थालेको भन्दै स्थानीयवासीले चिन्ता व्यक्त गरेका छन्।
सम्मेलनमा मुस्ताङलगायत हिमाली जिल्लामा जलवायु परिवर्तनको असर उच्च देखिएकाले त्यसलाई न्यूनीकरण गर्न सकिने उपायबारे स्थानीय तहबिच व्यापक छलफल हुने जनाइएको छ।
जलवायु परिवर्तनले पारेको असर कम गर्न स्थानीयस्तरमा अनुकूलनका कार्यक्रम सञ्चालनसँगै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहबाट जलवायु न्याय र सहयोगका लागि ध्यानाकर्षण गराउने उद्देश्यले सम्मेलन आयोजना गरिएको घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले बताउनुभयो।
“मुस्ताङमा देखिएका जलवायुजन्य समस्यालाई स्थानीय मुद्दाका रूपमा मात्र नभई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चासोको विषयका रूपमा समेत उठाउने उद्देश्य छ,” उहाँले भन्नुभयो। सम्मेलनबाट जलवायु परिवर्तनको जोखिम कम गर्ने सवालमा स्थानीय तहबीच नीति निर्माण र कार्यान्वयनबारे विचारमन्थन हुने जनाइएको छ। सम्मेलनले जलवायु परिवर्तनको असर न्यूनीकरणमा पालिकामार्फत गर्न सकिने काम तथा नीति निर्माणका लागि आवश्यक पहल र अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गर्न साझा धारणा बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
जोमसोममा आयोजित सम्मेलनमा देशभरका ४२१ वटा पालिका र ३६ वटा जिल्ला समन्वय समितिका प्रतिनिधिले सहभागिता जनाएका छन्। सम्मेलनको कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले उद्घाटन गर्ने कार्यक्रम तय भएको घरपझोङ गाउँपालिकाका उपाध्यक्ष जमुना थापामगरले जानकारी दिनुभयो।
जलवायु परिवर्तनका कारण मुस्ताङमा प्राकृतिक सन्तुलन बिग्रँदै गएको, हिमनदी पग्लिएर बनेका हिमताल ठुला र अस्थिर बन्दै गएका तथा अचानक हिमताल फुटेर बाढी आउने जोखिम बढेको जनाइएको छ। पानीका स्रोतमा अस्थिरता, औसतभन्दा बढी वर्षाका कारण बाढीपहिरो तथा खानेपानीको अभावले बसाइँसराइ जस्ता समस्या पनि देखिएका छन्।
पछिल्लो एक दशकमा तापक्रम वृद्धिका कारण हिमाली वनस्पति र जनावरको बासस्थानमा आएको परिवर्तन तथा कृषि, पशुपालन र पर्यटनजस्ता मानव जीवन र जीविकोपार्जनसँग जोडिएका क्षेत्रमा परेको प्रत्यक्ष असरलाई सम्मेलनमा प्राथमिकता दिइने जनाइएको छ।
