काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब एक अर्ब रुपैयाँ बराबरको ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ घोषणा गरेको छ। शिक्षा तथा खेलकुद मन्त्रालयले निजी क्षेत्रका विद्यालय सञ्चालकका छाता सङ्गठनसँगको सहकार्यमा प्रारम्भिक बालविकास शिक्षादेखि कक्षा १२ सम्म अध्ययनरत बाढी प्रभावित विद्यार्थीलाई निःशुल्क शिक्षा उपलब्ध गराउने उद्देश्यले उक्त कार्यक्रम ल्याएको हो।
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मन्त्रालयमा आयोजित कार्यक्रममा छात्रवृत्ति योजना घोषणा गरे। उनले विद्यार्थीको पारिवारिक आर्थिक अवस्था र अभिभावक गुमाएको अवस्थाका आधारमा प्राथमिकता निर्धारण गरी छात्रवृत्ति उपलब्ध गराइने बताए। उनले बाढी प्रभावित पालिकाका विद्यार्थीलाई आवासीय सुविधा, विद्यालयमै आवासीय व्यवस्था तथा पूर्ण छात्रवृत्तिमार्फत सरकारले सहयोग प्रदान गर्ने बताए।
उनका अनुसार दुवै अभिभावक गुमाएका विद्यार्थीलाई पहिलो प्राथमिकता, एकजना अभिभावक गुमाएका विद्यार्थीलाई दोस्रो प्राथमिकता र आर्थिक अवस्थाका आधारमा अन्य विद्यार्थीलाई प्राथमिकता दिने सरकारको नीति छ। उनले रसुवा, धादिङ र नुवाकोटमै रहेर अध्ययन गर्न चाहाने विद्यार्थीहरुलाई समेत सरकारले आवश्यक सहयोग गर्ने बताए।
