काठमाण्डौं । माथिल्लो त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका मानिसको उद्धारका खटिएको टीम सुरङभित्र प्वाल पारेर प्रवेश गरेको छ ।उद्धार टोलीले आज दिउँसो २.०० बजे सुरुङको मुख्य भाग ( क्राउन हेड) मा पुगेर २ फिट चौडाइ र ३ फिट लम्बाइको प्वाल बनाउन सफल भएको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ । उद्धार टोलीले त्रिशूली ३ ए सुरूङ भेटेको छ।
भोटेकोशी बाढीका कारण पुरिएको यो सुरूङको पोर्टसम्म उद्धार टोली पुगिसकेको ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री विराजभक्त श्रेष्ठको सचिवालयले जनाएको छ। अहिले पोर्टको मुख सफा गर्ने काम भइरहेको उल्लेख छ। पोर्ट सफा गरेपछि अक्सिजनसहित उद्धारकर्मीलाई टनेलभित्र पठाउने तयारी भइरहेको सचिवालयको भनाइ छ। उद्धारकर्मीले भित्रको अवस्था प्रत्यक्ष रूपमा निरीक्षण गर्दै अगाडि बढ्नेछन्।
उद्धारकर्मीसँग क्यामरा पनि पठाइनेछ, जसबाट भित्रको वास्तविक अवस्था बाहिरबाट हेर्न सकिनेछ। पोर्टबाट करिब १८० मिटर अगाडि गएपछि सम्भावित कार्यस्थलसम्म पुग्न सकिने अनुमान छ, सचिवालयले भनेको छ। कार्यस्थलमा पुगेपछि भित्र फसेका व्यक्तिहरूको वास्तविक अवस्था, स्थान र सुरक्षाको स्थिति बारे थप स्पष्ट जानकारी हुने जनाएको छ। सुरूङ भित्र आयोजनामा कार्यरत ४० जना हाराहारि कर्मचारी तथा श्रमिक फसेको अनुमान छ।
