काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा ) का सभापति रवि लामिछानेले भोटेकोशी बाढी प्रभावित क्षेत्रका पालिका प्रमुखसँग उद्धार तथा राहत व्यवस्थापन बारे छलफल गरेका छन्। आइतबार पार्टीका तर्फबाट उद्धार तथा राहतमा सहजीकरण गर्न गठन गरिएको परिचालन संयन्त्रको बैठकअघि लामिछानेले रसुवा, नुवाकोट, धादिङ, गोरखा र तनहुँका प्रभावित पालिकाका प्रमुखसँग छलफल गरेका हुन्।
छलफलका क्रममा पालिका प्रमुखहरूले प्रभावित क्षेत्रमा देखिएका समस्या, शव व्यवस्थापन, बाटो, पुल, विद्युत् तथा अन्य कनेक्टिभिटीका विषय उठाएको रास्वपाका प्रवक्ता जगदीश खरेलले जानकारी दिए । खरेलका अनुसार लामिछानेले प्रभावित क्षेत्रमा उद्धार, राहत तथा व्यवस्थापनका काममा सरकारी निकाय र स्थानीय तहसँग समन्वय गरेर अघि बढ्न पार्टीले गठन गरेको परिचालन संयन्त्रलाई निर्देशन दिएका छन्।
‘भोटेकोशी प्रभावित क्षेत्रका बासिन्दालाई कसरी उद्धार, राहत र व्यवस्थापन गर्न सकिन्छ भनेर सभापतिले पार्टीले गठन गरेको संयन्त्रका नेताहरूसँग छलफल गर्नुभयो। सरकारी निकाय र स्थानीय पालिकासँग समन्वय गरेर उद्धार र राहतका काममा लाग्न निर्देशन दिनुभएको छ,’ खरेलले भने। उनका अनुसार पालिका प्रमुखहरूले बाढीमा फसेकाको उद्धार, शव व्यवस्थापन तथा राहतका साथै सडक, पुल, विद्युत्लगायत तत्काल आवश्यक पूर्वाधारको विषयमा ध्यानाकर्षण गराएका छन्।
‘पालिका प्रमुखहरूले खासगरी शव व्यवस्थापन, बाढीमा फसेकाहरूको जीवित उद्धार तथा राहत, बाटो, पुल, बिजुलीलगायत कनेक्टिभिटीसँग सम्बन्धित विषय तत्काल आवश्यक रहेको बताउनुभयो। जवाफमा सभापतिले सरकारसँग समन्वय गरी यी विषयमा कसरी उद्धार, राहत र व्यवस्थापन गर्न सकिन्छ, त्यसबारे सरकारसँग कुरा गर्छु भन्नुभयो,’ खरेलले भने। लामिछानेले आइतबार बागमती प्रदेशका मुख्यमन्त्रीसँग पनि छलफल गरेको खरेलले बताए।
उद्धार तथा राहत व्यवस्थापनलाई थप प्रभावकारी बनाउने विषयमा आइतबार साँझ बस्ने रास्वपाको केन्द्रीय समिति बैठकमा पनि छलफल हुने उनले जानकारी दिए। सरकारले यस अघि नै भोटेकोशी बाढीबाट प्रभावित १५ वटा स्थानीय तहलाई आगामी तीन महिनाका लागि ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषणा गरिसकेको छ ।
