काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि उत्पन्न संकट समाधानका लागि सरकार र प्रतिपक्षले एकीकृत रूपमा उद्धार तथा राहत कार्य अगाडि बढाउने प्रतिवद्धता व्यक्त गरेका छन्। बुधवार बिहान ९ बजे भोटेकोशीमा आएको बाढीपछि प्रधानमन्त्री बालेन्द्र शाहले चासो व्यक्त गरेसँगै सत्तापक्ष र प्रतिपक्षबीच भएको छलफलमा यस्तो सहमति जुटेको हो।
छलफलपछि नेपाली काँग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले विपद्को यस घडीमा राजनीतिक आग्रह–पूर्वाग्रहभन्दा माथि उठेर जनताको जिउधनको रक्षामा केन्द्रित हुने निर्णय भएको जानकारी दिए। नेता आङदेम्बेकाअनुसार बाढी प्रभावित क्षेत्रमा तत्काल उद्धारका लागि हालसम्म आठवटा हेलिकप्टर परिचालन गरिसकिएको छ।
उद्धार कार्यलाई तीव्रता दिन नुवाकोटको धुन्चे र त्रिशूलीमा रहेका हेलिप्याडहरूलाई पूर्ण रूपमा प्रयोगमा ल्याइएको छ। यस्तै, घाइतेहरूको उपचारका लागि त्रिशूलीस्थित सरकारी अस्पताललाई आवश्यक स्वास्थ्य उपकरण र जनशक्तिसहित तयारी अवस्थामा राखिएको उनले बताए।
उनले भने, ‘अहिलेको मुख्य प्राथमिकता प्रभावित क्षेत्रका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्नु र घाइतेको उपचार गर्नु हो। सरकारले स्रोतसाधन परिचालन र बजेट व्यवस्थापनमा कुनै हिचकिचाहट नगरी अगाडि बढ्नुपर्छ, जसमा प्रतिपक्षको पूर्ण साथ रहनेछ।’ विपद्बाट भएको क्षतिको यकिन विवरण संकलन भइरहेको र उपलब्ध सबै संयन्त्रहरूलाई अधिकतम परिचालन गर्ने निर्णय समेत बैठकले गरेको छ। सरकारले सम्बन्धित मन्त्रालयहरूलाई तत्काल क्रियाशील हुन निर्देशन दिइसकेको छ।
