काठमाण्डौं । सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ। अपराह्न १ः०० बजे सिंहदरबारमा बस्ने प्रतिनिधि सभाको बैठकमा विभिन्न विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्ने सम्भावित कार्यसूची छ। सभामुख डोलप्रसाद अर्यालले ‘खानी तथा खनिज पदार्थ विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची छ।
महिला, बालबालिका लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले ‘बालबालिकासम्बन्धी ( पहिलो संशोधन ) विधेयक, २०८३’ प्रस्तुत गर्ने छिन्। यस्तै, महिलामन्त्री वादीले नै ‘मानव बेचबिखन तथा ओपारपसार ( नियन्त्रण ) ( पहिलो संशोधन ) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने छिन्।
यस्तै, परराष्ट्रमन्त्री शिशिर खनालले ‘राहदानी ( पहिलो संशोधन ) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन्।त्यसैगरी, राष्ट्रिय सभाको बैठक १ः१५ बजे सिंहदरबारमा बस्दैछ। आजको बैठकमा कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले ‘सङ्क्रामक पशु रोग ( नियन्त्रण ) विधेयक, २०८३ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।
