काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिमा सांसदहरूले धारणा राख्दा मर्यादित भाषा बोल्नको लागि रुलिङ गरिएको छ । शुक्रबार सिंहदरबारमा बसेको बैठकमा समितिकी सभापति समीक्षा बास्कोटाले बैठकमा बोल्दा मर्यादित भाषा र उचित व्यवहार प्रयोग गर्न रुलिङ गरेकी हुन्।
‘समितिमा हामीले आमन्त्रित गर्ने व्यक्तिहरू कुनै न कुनै संगठन वा निकायका प्रमुख रहेर काम गरिरहनुभएको हुन्छ। यहाँ हामीले प्रयोग गर्ने भाषा, शब्द र व्यवहारलाई आम नागरिकले पनि हेरिरहेका हुन्छन्,’ सभापति बास्कोटाले भनिन्, ‘त्यसैले विषयान्तर नभई मर्यादित र संवेदनशील भएर विषय उठान गर्न माननीय सदस्यहरू र आमन्त्रित व्यक्तित्वहरूमा हार्दिक अनुरोध गर्दछु।’
पछिल्लो समय संसदीय समितिहरूमा उग्र र अमर्यादित बहस हुने गरेको भन्दै आलोचना भइरहेका बेला कानुन समिति सभापति बास्कोटाले समितिका सदस्यहरूलाई मर्यादित भाषा प्रयोग गर्न सचेत गराएकी हुन् ।
