काठमाडौँ । सत्तारुढ दल रास्वपा सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकले सद्भाव र संयम अपनाउन संयुक्त विज्ञप्ति जारी गर्ने निर्णय गरेको छ । बैठकपछि कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सुनसरी लगायतका स्थानमा भड्किएको शान्ति कायम गर्न सबै दलले संयुक्त विज्ञप्ति जारी गर्ने सहमति भएको बताएका हुन् ।
सर्वदलीय बैठकमा दलका नेताहरूले यस्तो संवेदनशील विषयमा प्रधानमन्त्री र गृहमन्त्रीको अनुपस्थितिले थप अन्योल सिर्जना भएको भन्दै सरकारलाई जिम्मेवार भएर प्रस्तुत हुन आग्रह गरेको छ । नेता आङ्देम्बेले यस्तो गम्भीर विषयमा प्रधानमन्त्रीले राष्ट्रपतिसँग समेत छलफल गरेर अघि बढ्नुपर्नेमा त्यसतर्फ ध्यान नदिइएको बताए ।
नेकपा एमालेका महासचिव शंकर पोखरेलले रास्वपा सभापति लामिछानेले बोलाएको सर्वदलीय बैठकमा सुनसरी लगायतका क्षेत्रमा देखिएको तनावको अवस्थालाई सामान्य बनाउने विषयमा छलफल भएको जानकारी दिए । उनले भीड नियन्त्रण गर्न सरकार किन असफल भइरहेको छ भन्ने विषयमा दलका नेताहरूले चासो प्रकट गरेको बताए ।
सर्वदलीय बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली र श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ अनुपस्थित भएका छन् । ओलीले पार्टी महासचिव शंकर पोखरेल र साम्पाङले प्रमुख सचेतक आरेन राईलाई बैठकमा पठाएका हुन् ।पार्टी सभापती रबि लामिछानेसँग अर्थमन्त्री स्वर्णिम वाग्ले बैठकमा उपस्थित रहे पनि प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुधन गुरुङ्ग भने अनुपस्थित रहेका छन् । बिपक्षीहरुले प्रधानमन्त्री र गृहमन्त्रीको सर्वदलिय बैठकमा खोजी गरेका छन् ।
