काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन भएको छ । कांग्रेस उपसभापति विश्वप्रकाश शर्माका अनुसार उनको आज उपचारका क्रममा निधन भएको हो । पूर्वउपसभापति समेत रहेका नेता श्रेष्ठ पछिल्लो समय पेटको क्यान्सरबाट पीडित श्रेष्ठको स्वास्थ्य गम्भीर बनेको थियो ।नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय सानेपामा राखिने भएको छ।
भोलि बिहान ९ देखि ११ बजेसम्म पार्टीको केन्द्रीय कार्यालय सानेपामा राखिने सभापति गगन थापाले बताएका छन्। उनका अनुसार पार्टी कार्यालयबाट अन्तिम दाहसंस्कारका लागि पशुपति आर्यघाट लगिनेछ। नेपालको लोकतान्त्रिक आन्दोलन, पार्टी सङ्गठन निर्माण र लोकतन्त्रको रक्षाका निम्ति श्रेष्ठले खेलेको अविचलित भूमिका सधैँ प्रेरणादायी रहने सभापति थापाको भनाइ छ।
उनले भनेका छन्, ‘स्याङ्जाबाट सुरु भएको उहाँको राजनीतिक यात्रा, पार्टीको कार्यवाहक सभापति, पूर्व उपप्रधानमन्त्री, शिक्षामन्त्री तथा केन्द्रीय सदस्यका रूपमा पार्टी र देशका लागि पुर्याउनुभएको योगदान अविस्मरणीय छ।’ पार्टी र लोकतान्त्रिक आन्दोलनमा समर्पित, निष्ठावान्, अनुभवी र निडर नेता गुमाउनु नेपाली कांग्रेस र सिङ्गो देशकै लागि अपूरणीय क्षति भएको उल्लेख गरेका छन्। ‘तपाईँको निष्ठा र समर्पणको बाटोमा हामी निरन्तर हिँडिरहनेछौँ’ उनले भनेका छन्।
