काठमाडौँ । पुँजी बजार तथा धितोपत्र व्यवसायमा देखिएका समस्या समाधान गर्न सरकारले अग्रसरता देखाएको छ। सोमबार सिंहदरबारमा प्रधानमन्त्री बालेन शाह र पुँजी बजारक्षेत्रका सरोकारवाला प्रतिनिधिहरूबीच गहन छलफल भएको छ। छलफलका क्रममा प्रधानमन्त्री शाहले धितोपत्र व्यवसायलाई थप व्यवस्थित र मर्यादित बनाउन सरकार प्रतिबद्ध रहेको बताउँदै व्यवसायीका जायज माग तत्काल कार्यान्वयनमा लैजाने आश्वासन दिएका छन्।
पुँजी बजारका समस्या समाधानका लागि नयाँ समितिहरू गठन गरेर ढिलाइ गर्नुभन्दा सम्बन्धित निकायहरूलाई नै तत्काल काम अगाडि बढाउन निर्देशन दिइने बताइएको छ। सो अवसरमा सरोकारवालाहरूले बजारलाई सन्तुलित बनाउन र लगानीकर्ताको मनोबल उकास्नका लागि विविध सुझावहरू पेश गरेका थिए। उनीहरूले करसम्बन्धी अस्पष्टता हटाएर घाटा समायोजनपछि मात्र कर असुल गर्ने व्यवस्था मिलाउन, तथा नेपाल राष्ट्र बैंकले ब्रोकरहरू मार्फत मार्जिन लेन्डिङ सञ्चालनका लागि आवश्यक नियम तुरुन्त बनाउन आग्रह गरेका छन्।
यस्तै, नेपाल स्टक एक्सचेन्जको पुनर्संरचना गरी प्रविधियुक्त बनाउनुपर्ने, उच्च दक्ष जनशक्ति भित्र्याउने वातावरण बनाउनुपर्ने र नेपाल धितोपत्र बोर्डले हालको १० कित्ते नीति पुनरावलोकन गर्नुपर्ने मागसमेत छलफलमा उठेको छ। योग्य संस्थागत लगानीकर्तामार्फत बुक बिल्डिङ प्रक्रियाबाट आइपीओ ल्याउने व्यवस्था मिलाउन व्यवसायीहरूले विशेष जोड दिएका छन्।
उक्त छलफलमा नेपाल धितोपत्र बोर्डका अध्यक्ष गोपाल भट्ट, नेप्सेका अध्यक्ष अमृत लम्साल, स्टक ब्रोकर एशोसिएशन अफ नेपालका अध्यक्ष सागर ढकाल, नासा सेक्युरिटिजका सन्दीप जलान, नेप्सेका पूर्वप्रमुख कार्यकारी अधिकृत सीताराम थपलिया, नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख नवराज सिलवाल, नागरिक स्टक डिलरका प्रमुख कार्यकारी अधिकृत महेश्वरलाल श्रेष्ठ तथा प्रियाराज रेग्मीलगायतको सहभागिता थियो।
