काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ( बालेन ) ले पुँजी बजार, धितोपत्र व्यवसाय तथा बीमा क्षेत्रका सरोकारवाला व्यक्तित्वहरूसँग छलफल गर्दैछन् ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा दिउँसो १२ बजे उक्त छलफल हुनेछ । उक्त बैठकमा नेपाल धितोपत्र बोर्ड ( सेबोन ) का अध्यक्ष गोपाल भट्ट, नेपाल स्टक एक्स्चेन्ज ( नेप्से ) का अध्यक्ष अमृत लम्साल, स्टक ब्रोकर एशोसिएशन अफ नेपालका अध्यक्ष सागर ढकाल, नासा सेक्युरिटिजका सन्दीप जलान आमन्त्रित छन् ।
नेप्सेका पूर्व प्रमुख कार्यकारी अधिकृत सीताराम थपलिया, नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख नवराज सिलवाल र नागरिक स्टक डिलर कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत महेश्वर लाल श्रेष्ठ सहभागी हुँदै हुनुहुन्छ। यस्तै प्रिया राज रेग्मी र अम्बिका प्रसाद पौडेल पनि बैठकमा सहभागि हुने कार्यक्रम छ ।
बैठकमा पुँजी बजारको वर्तमान अवस्था, धितोपत्र व्यवसाय तथा बीमा क्षेत्रको सुदृढीकरण, नीतिगत सुधारका प्रयासहरू र समग्र राष्ट्रिय अर्थतन्त्रका विभिन्न समसामयिक विषयहरूमा केन्द्रित रहेर सरोकारवालाहरूसँग छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
