काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी ( राप्रपा ) का नेता ज्ञानेन्द्र शाहीले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी र गृह प्रशासनमाथि कडा प्रहार गर्दै संसद्मा आफूले उठाएका प्रश्नहरूको सामना गर्न खुला चुनौती दिएका छन्। जापान भ्रमणमा रहेका नेता शाहीले टिकटक लाइभमार्फत सम्बोधन गर्दै ओसाकामा आफूमाथि भौतिक आक्रमण भएको भनी सामाजिक सञ्जालमा फैलाइएको दाबीलाई पूर्णरूपमा ‘झुटो अफवाह’ भएको स्पष्ट पारेका छन्। रास्वपाका कार्यकर्ताहरूले आफ्नो बद्नाम गराउने नियोजित उद्देश्यका साथ यस्तो भ्रमपूर्ण प्रचार गरेको उनको आरोप छ।
संसद्मा आफूले उठाएका ज्वलन्त मुद्दाहरूको तथ्यपरक जवाफ दिन नसकेपछि आफ्नो चरित्रहत्या गर्न खोजिएको दाबी गर्दै शाहीले आक्रोश पोखे। उनले प्रश्न गरे, ‘सहकारी ठग्ने र जेलबाट भाग्नेहरू मर्यादापालक हुने, अनि त्यसको विरोध गर्नेचाहिँ असभ्य हुने रु’ आफू कसैको निगाहमा नभई जनताको प्रत्यक्ष मतबाट निर्वाचित सांसद भएको भन्दै उनले रास्वपाको नेतृत्वमाथि कटाक्ष गरे।
शाहीले गृह प्रशासनको नेतृत्व र व्यापारी दीपक भट्टबीचको सम्बन्धबारे गम्भीर प्रश्न उठाउँदै यस विषयमा स्वतन्त्र छानबिन हुनुपर्ने माग पुनः दोहोर्याए। सरकारले संसद्मा उठेका प्रश्नको जवाफ दिनुको साटो आफैंलाई सफाइ दिने काम गरिरहेको उनको भनाइ छ। जापानको ओसाकामा आफूमाथि कुनै अप्रिय घटना नभएको स्पष्ट पार्दै शाहीले भने, ‘तिमीहरूका सांसद खगेन्द्रसँग छाती ठोकेर कुरा गरेको छु । तर, त्यही भेटलाई बङ्ग्याएर आक्रमणको झुटो कथा बुनियो।’
टिकटक लाइभमा निकै आक्रामक रूपमा प्रस्तुत भएका शाहीले रास्वपाका समर्थकहरूले संसद्को मूल विषयबाट ध्यान मोड्नका लागि सामाजिक सञ्जालमा प्रोपगान्डा चलाएको आरोप लगाए। उनले सरकार र रास्वपालाई फेसबुक र टिकटकमा अफवाह फैलाएर राजनीतिक प्रतिवाद गर्नुको साटो संसद्को रोस्टममा उभिएर तथ्यसहित आफ्ना प्रश्नहरूको जवाफ दिन आग्रह गरेका छन्।
