काठमाडौँ । प्रतिपक्षी दल नेकपा एमालेका सांसद सांसद गणेशसिंह ठगुन्नाले मिडिया र राजनीतिक नेतृत्वमाथि त्रास फैलाउने कार्यमा संलग्नमाथि कडा कारबाही गर्न सरकारसँग माग गरेका छन्। मंगलबारको प्रतिनिधिसभा बैठकमा ठगुन्नाले विभिन्न मिडिया र राजनीतिक नेतृत्वको घरमा सवारी साधन तेस्र्याएर मानसिक त्रास फैलाउने गतिविधिमा संलग्नमाथि सरकारले तत्काल कडा कारबाही गर्नुपर्ने बताएका हुन्।
सांसद ठगुन्नाले राजनीतिक नेतृत्व र मिडियामाथि त्रास फैलाउने गतिविधिलाई पञ्चायतकालीन मण्डले तन्त्रले फैल्याएको राज्य आतंकको रुपमा चित्रण गर्दै यस्ता खालका सांकेतिक गतिविधि देशको हितमा नभएको पनि स्पष्ट पारे। ‘हिजो मिडिया क्षेत्र र राजनीतिक नेतृत्वको घरमा सवारी साधन तेस्र्याएर मानसिक त्रास फैल्याउने जुन काम भएको छ।
हेर्दा यो सांकेतिक रूपको सानो घटना भएपनि यसको संकेत पञ्चायतकालीन मण्डले तन्त्रले फैल्याएको राज्य आतंकको झझल्कोको रुपमा हामीलाई याद आउँछ । यसर्थ सरकारले उक्त कार्यमा संलग्न व्यक्तिहरुलाई कानून बमोजिक कडा कारबाही गर्नु पर्छ’, उनले भने। सांसद ठगुन्नाले सुकुम्बासीमाथि सरकारले अमानवीय व्यवहार गरिरहेको भन्दै आपत्ति जनाए। उनले प्रधानमन्त्री बालेन्द्र साहको राष्ट्रहित विरोधी गतिविधि सच्याउनका विकल्प नरहेको पनि बताए।
