काठमाण्डौं । संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चाले काठमाडौंमा प्रदर्शन गरेको छ। काठमाडौंको माइतीघर मण्डलमा आइतबार दिउँसो मोर्चाले प्रदर्शन गरेको हो। सुकुम्बासीलाई व्यवस्थापन विना नै उठिवास लगाएको र सुकुम्बासीको पक्षमा बोल्नेहरूलाई पनि गिरफ्तार गरिएको विरोधमा उनीहरुले प्रदर्शन गरेका हुन्। सुकुम्बासीको शून्य व्यवस्थापन, असफल तेरो शासन मानव अधिकारको सम्मान गर, सुकुम्बासी व्यवस्थापन के गरिस् लगायतका उल्लिखित प्लेकार्ड प्रदर्शन गरेका छन्।
शनिबार मध्यरात बागमतीमा आएको बाढी सुकुम्बासी बस्दै आएको कीर्तिपुरको होल्डिङ सेन्टरमा पसेको थियो। बाढी पसेपछि होल्डिङ सेन्टरबाट सुकुम्बासी विस्थापित भएका छन्। खाद्यान्नदेखि लत्ताकपडासम्म पानीमा भिजेपछि सुकुम्बासीहरू रातभरि चिसै लुगा लगाएर बसेका थिए। राति २ बजे पुगेको प्रहरीले उनीहरूलाई त्यहाँबाट उद्धार गरी त्रिभुवन विश्वविद्यालयमा राखिएको थियो।
उनीहरूलाई शनिबार नै खरिपाटी र बोडेको होल्डिङ सेन्टरमा लगिएको छ। प्रधानमन्त्री बालेन शाहले खोलारनदी किनारमा बर्खामा बाढी पस्ने भएकाले सुकुम्बासीहरु असुरक्षित हुन्छन् भनेर उनीहरूलाई हटाइएको बताएका थिए। सुरूमा वस्ती खाली गर्दा सरकारले १५ दिनभित्रै उनीहरुको व्यवस्थापन गर्ने भनेको थियो। तर तीन महिना बितिसक्दा पनि सरकारले उनीहरूको व्यवस्थापन गरेको छैन। बरू होल्डिङ सेन्टर छाड्नु भनेर उर्दी जारी गरेको छ।
त्यसका लागि सरकारले प्रतिपरिवार २५ हजार रूपैयाँ दिने भनेको छ। केही सुकुम्बासीले २५ हजार रूपैयाँ लिए पनि अधिकांशले लिएका छैनन्। काठमाडौंमा कोठा पाउन मुस्किल छ। त्यसमाथि २५ हजार रूपैयाँ कोठा व्यवस्थापनका लागि पर्याप्त हुँदैन। त्यसकारण पनि सुकुम्बासीले पैसा लिएर होल्डिङ सेन्टर छाड्न अस्वीकार गर्दै आइहेका छन्।
शनिबार बाढी पसेपछि त्यहाँ वस्तुस्थिति बुझ्न गएका जेनजी मुभमेन्ट अलायन्सका प्रतिनिधिमाथि प्रहरीले कुटपिट नै गरेको थियो। अलायन्सका माजिद अन्सारी अझै अस्पतालमै छन्। सरिश्मा थापा र नहेन्द्र खड्का लगायतलाई शनिबार नै छाडेको थियो। उनीहरुको धरपकड विरूद्ध पनि माइतीघरमा प्रदर्शनकारीहरूले नारा लगाएका छन्।
सुकुम्बासीहरूलाई उचित व्यवस्थापन बिना नै उठिवास लगाएको भन्दै संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चाले काठमाडौंको माइतीघरमा प्रदर्शन गरेको छ।शनिबार बिहान कीर्तिपुरको होल्डिङ सेन्टरमा बाढी पसेर विस्थापित भएपछि र साँझ जेन्जी अभियान्तालाई गिरफ्तार गरेपछि उनीहरू झन् आन्दोलित भएका हुन् ।
