काठमाण्डौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गर्न खोजेको भन्दै प्रहरीले नियन्त्रणमा लिएर भक्तपुरस्थित निवाससम्म पुर्याएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार प्रसाईं विमानस्थल परिसरभित्र सार्वजनिक सम्बोधन गर्ने तयारीमा थिए। सुरक्षा तथा व्यवस्थापनको कारण देखाउँदै प्रहरीले उनलाई त्यहाँ कार्यक्रम गर्न नदिई प्रहरीको सवारीमार्फत घरसम्म पुर्याएको जनाएको छ।
प्रहरीका अनुसार विमानस्थलजस्तो संवेदनशील क्षेत्रमा पूर्वअनुमतिबिनै पत्रकार सम्मेलन वा सार्वजनिक कार्यक्रम गर्न नपाइने भएकाले आवश्यक सुरक्षा व्यवस्था अपनाइएको हो। घर पुगेपछि प्रसाईंले आफूलाई विमानस्थलमा बोल्ने अवसर नदिइएको र प्रहरीले नियन्त्रणमा लिएर सिधै घरसम्म ल्याइदिएको प्रतिक्रिया दिएका छन्।
प्रसाईंले आत्मदाह गरेका गणेश नेपालीको घटनासम्बन्धी न्यायको माग गर्दै विमानस्थलमै आफ्नो धारणा सार्वजनिक गर्ने योजना बनाएका थिए। घटनापछि थप कुनै अप्रिय अवस्था सिर्जना नभएको प्रहरीले जनाएको छ।
