काठमाडौं । नेपाल र स्विट्जरल्याण्डबीच संसदीय कूटनीतिलाई प्रभावकारी बनाइने भएको छ । बुधवार बसेको नेपाल–स्विट्जरल्याण्ड संसदीय मैत्री समूहको परिचयात्मक बैठकमा यसबारे छलफल भएको हो । प्रतिनिधिसभा सदस्य तथा समूहकी संयोजक खुश्बु ओलीको अध्यक्षतामा बुधबार संघीय संसद भवनमा सम्पन्न भएको बैठकमा नेपालका लागि स्विट्जरल्याण्डका राजदूत डा। डेनियल मेउली, स्विस दूतावासका प्रतिनिधि, संसदीय मैत्री समूहका सदस्य, परराष्ट्र मन्त्रालय तथा संघीय संसदको अन्तर्राष्ट्रिय सम्बन्ध शाखाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
बैठकमा नेपाल र स्विट्जरल्याण्डबीच करिब सात दशकदेखि कायम रहेको मैत्रीपूर्ण सम्बन्धलाई संसदीय कूटनीतिमार्फत थप सुदृढ बनाउने विषयमा विचार आदानप्रदान भएको संयोजक ओलीले नेपाल प्रेसलाई बताइन् । छलफलका क्रममा सुशासन, जलवायु परिवर्तन, पर्वतीय ९माउन्टेन० कूटनीति, प्राविधिक तथा व्यावसायिक शिक्षा, पर्यटन, लगानी, हरित अर्थतन्त्र तथा संसदीय अनुभव आदानप्रदानका क्षेत्रमा सहकार्य विस्तार गर्ने सम्भावनाबारे पनि छलफल गरिएको थियो।
बैठकले नेपाल–स्विट्जरल्याण्ड संसदीय मैत्री समूहलाई नियमित संवाद, संसदीय भ्रमण, अनुभव आदानप्रदान तथा द्विपक्षीय सम्बन्धलाई थप उचाइमा पुर्याउने सक्रिय मञ्चका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। सहभागीहरूले आगामी दिनमा नेपाल र स्विट्जरल्याण्डबीच संसदीय कूटनीतिलाई अझ प्रभावकारी बनाउँदै आपसी सहकार्यलाई थप सशक्त बनाउने विश्वास व्यक्त गरेका छन्।
