काठमाडौं । सरकारका प्रवक्ता सस्मित पोखरेलले प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा दिएको अभिव्यक्तिलाई बचाउ गरेका छन् । प्रधानमन्त्रीले बोलेका कुरालाई उनले अर्कै तरिकाले अथ्र्याए । आज मन्त्रिपरिषद बैठकपछिको प्रेस ब्रिफिङमा पत्रकारले यो विषयमा सोधेका थिए । सञ्चारमन्त्री पोखरेलले यसमा परराष्ट्र मन्त्रालयले आवश्यक ब्रिफ दिइसकेको उल्लेख गरे । दुई देशबीच विभिन्न संयन्त्रहरू रहेको र भूमिसम्बन्धी सीमा विवाद मिलाउनको लागि संयन्त्रहरू बनेको उनले स्मरण गराए ।
पोखरेलले भने, ‘त्यो संयन्त्र पहिलेदेखि नै बनेको हो, अहिलेको सरकारले बनाएको होइन । सीमा विवाद कसरी सल्टाउने भन्ने कुरा प्रधानमन्त्री ज्यूले पनि अस्ति भनिसक्नुभएको छ । नेपालले पनि कतिपय ठाउँमा नेपालको डिप्लोम्याटिक नोट इन्डियालाई पठाएको छ, इन्डियाले पनि पठाएको छ । दुई देशहरू बसेर टेबुल टक गरेर जति पनि सीमा विवादहरू छन्, मिलाउने भन्ने कुरा प्रधानमन्त्रीज्यूले नै भनिसक्नुभएको छ ।’ पत्रकारले नेपालले भारतको सीमा मिचेको प्रमाण के हो त भन्ने प्रश्न सोधेपछि पोखरेलले प्रधानमन्त्रीको भनाइलाई बंग्याए ।
उनको जवाफ थियो, ‘हामीले सीमा विवादसम्बन्धी काम अगाडि बढाउने क्रममा अर्को पक्षबाट नेपालले पनि सीमा मिचेको छ भन्ने कुरा आउँदाखेरि प्रधानमन्त्रीले आफू अचम्मित परेको भनेर भन्नुभएको हो । यसमा मैले भने जस्तै परराष्ट्र मन्त्रालयले पनि स्पष्टीकरण दिइसकेको छ । कति ठाउँमा भारतले उपभोग गरिरहेको सीमा नेपालमा पर्न सक्ने र नेपालले उपभोग गरेको पनि भारतमा पर्न सक्ने भन्ने कुरा त्यो संयन्त्रहरूबाट आएको हुँदा दुई देश बसेर त्यसको विवाद चाहिँ मिलाउनुपर्छ भन्ने कुरा प्रधानमन्त्री ज्यूको हो ।’
प्रधानमन्त्रीले नेपालले भारतको सीमा मिचेको भन्ने अभिव्यक्ति नदिएको उनले दाबी गरे । ‘प्रधानमन्त्रीज्यूले त्यस्तो भन्नुभएको छैन । यस्तो कुरा आयो, म अचम्ममा परेँ भन्नुभएकोमा यसलाई विवाद‘ एकचोटि फेरि सुन्नुहोला ।’ उनले भने । संसद बैठकमा प्रधानमन्त्री शाहले नेपालले पनि थुप्रै ठाउँमा भारतको जग्गा मिचेको कुरा आफूले प्रधानमन्त्री भएपछि थाहा पाएको बताएका थिए ।
