काठमाण्डौं । इन्डियन प्रिमियर लिग (आइपिएल) २०२६ को महाभिडन्त आज अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा हुँदै छ। नेपाली समयअनुसार ७. ४५ बजे सुरु हुने यस फाइनल खेलमा डिफेन्डिङ च्याम्पियन रोयल च्यालेन्जर्स बेंगलुरू (आरसीबी ) र पूर्व विजेता गुजरात टाइटन्स ( जीटी) आमनेसामने हुने छन्। दुवै टोली दोस्रो पटक आइपिएल ट्रफी चुम्ने लक्ष्यका साथ मैदान उत्रिने छन्। गत वर्ष पञ्जाब किंग्सलाई यही मैदानमा हराएर बेंगलुरूले आफ्नो पहिलो उपाधि जितेको थियो भने गुजरातले सन् २०२२ को आफ्नो डेब्यू सिजनमै उपाधि कब्जा गरेको थियो।
बेंगलुरूका कप्तान रजत पाटीदारसँग एमएस धोनी र रोहित शर्मापछि आइपिएलको उपाधि सफलतापूर्वक रक्षा गर्ने तेस्रो कप्तान बन्ने सुनौलो अवसर छ। यसअघि चेन्नई सुपर किंग्स र मुम्बई इन्डियन्सले मात्र लगातार दुई पटक उपाधि जितेका छन्। धर्मशालामा भएको क्वालिफायर १ मा गुजरातमाथि ९२ रनको फराकिलो जित निकाल्दै बेंगलुरूले सिधै फाइनलको यात्रा तय गरेको थियो। उक्त खेलमा कप्तान पाटीदारले ३३ बलमा अविजित ९३ रन बनाएका थिए।
यता, क्वालिफायर १ मा पराजित भए पनि गुजरातले क्वालिफायर २ मा राजस्थान रोयल्सलाई ७ विकेटले हराउँदै तेस्रो पटक फाइनलमा स्थान सुरक्षित गर्यो। २१५ रनको लक्ष्य पछ्याउने क्रममा कप्तान शुभमन गिलको शतक ९१०४० र साई सुदर्शन ९५८० को अर्धशतकीय मद्दतले गुजरातले इतिहासकै सबैभन्दा ठूलो रन चेज पूरा गरेको थियो। सन् २०१६ देखि सबै फाइनलहरू क्वालिफायर १ मा भिडेका टोलीहरूबिच नै हुँदै आएको छ र पछिल्ला आठवटा फाइनल खेल क्वालिफायर १ जित्ने टोलीले नै जितेका छन्, जुन रेकर्डले बेंगलुरूलाई बलियो देखाउँछ।
फाइनलअघि गुजरात तीव्र गतिका बलर मोहम्मद सिराजको फिटनेसलाई लिएर टोली चिन्तित देखिएको छ। राजस्थानविरुद्धको क्वालिफायर २ को खेलका क्रममा उनको काँधमा चोट लागेको थियो। अहमदाबादको पीचमा यस सिजनमा केवल तीन पटक मात्र २०० भन्दा बढीको स्कोर बनेकाले घरेलु बलरहरूले बेंगलुरूका ब्याट्सम्यानहरूलाई कडा चुनौती दिने अपेक्षा गरिएको छ। एजेन्सीको सहयोगमा
