काठमाण्डौं । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल, २०८३ को सचिवालयले आम नागरिकसँग राय सुझाव माग गरेको छ।संविधान संशोधन प्रक्रियामा सबै नेपाली नागरिकको सहभागिता सुनिश्चित गर्ने उद्देश्यले सात दिनभित्र लिखित सुझाव माग गरेको हो।
प्रधानमन्त्री बालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाह संयोजक रहेका उक्त कार्यदलले विभिन्न राजनीतिक दलबाट लिखित सुझाव लिएर छलफल गरिसकेको छ।कार्यदलले विभिन्न समयमा संविधानविद्, कानूनविद्, वरिष्ठ अधिवक्ता, पूर्वप्रशासक, पूर्वकूटनीतिज्ञ, सञ्चारकर्मी र राजनीतिक व्यक्तित्वहरुसँग पनि छलफल गरी सुझाव सङ्कलन गरिसकेको जनाएको छ।
कार्यदलका सदस्यसचिव लीलाधर सुवेदीले संविधान संशोधन बहसपत्र तयार गर्नका लागि विभिन्न क्षेत्रका विज्ञ तथा सरोकारवालासँग छलफल र सुझाव सङ्कलन गरिरहेको जानकारी दिए।
