काठमाण्डौं । अभिनेत्री स्वस्तिमा खड्का पछिल्लो समय चरित्र बाँच्ने अभिनेत्रीका रूपमा परिचित छिन्। ‘होस्टेल रिटन्स’ चलचित्रमार्फत अभिनय यात्रा सुरु गरेकी अभिनेत्री खड्कालाई चर्चित गीत ‘कुटुमा कुटु’ले आम दर्शकमाझ चिनायो। उनलाई ‘कुटुमा कुटु गर्ल’ भनेर उपनामसमेत दिइयो।
सुन्दरीका रूपमा मात्र नभई गम्भीर र चरित्रप्रधान भूमिका पनि गर्न सफल अभिनेत्री खड्कालाई ‘बुलबुल’को ट्याम्पो चालक र ‘चिसो मान्छे’मा सुदूरपश्चिमको लवजसहितको सशक्त भूमिकाले मात्र बाँच्ने अभिनेत्रीका रूपमा स्थापित गर्यो। यिनै अभिनेत्री खड्काले अभिनय गरेको चलचित्र ‘लालीबजार’ पछिल्लो समय चर्चामा छ। आजदेखि देशभरका हलमा लागेको उक्त चलचित्रमा अभिनेत्री खड्काले आमाको भूमिका निर्वाह गरेकी छन्।
बिहीबार साँझ कलाकार, चलचित्र निर्माता र सञ्चारकर्मीहरूको उपस्थितिमा राजधानीमा यस चलचित्रको प्रिमियम शो भएको थियो। उक्त चलचित्रमा अभिनेत्री खड्काले वादी समुदायको महिलाको भूमिका निर्वाह गरेकी छन्। उक्त चलचित्रको सार्वजनिक पहिलो पोस्टरमै अभिनेत्री खड्काको चर्चा भएको थियो। जसमा उनी गर्भवती महिलाका रूपमा ढोकामा शृङ्गार गरेर उभिएकी छन्। प्रस्तुत छ, उनै अभिनेत्री खड्कासँग उनको कलायात्राबारे राष्ट्रिय समाचार समितिका समाचारदाता भेषराज कार्की र नवीन पौडेलले गरेको कुराकानीको सम्पादित अंश –
अभिनयप्रति कसरी लगाव भयो ?
सायद टेलिभिजन हुनसक्छ। म सानी छँदा टेलिभिजनमा धेरै शृंखला आउँथ्यो, हामी सबै परिवार बसेर टीभी हेर्थ्यौँ। त्यतिबेलादेखि हामी टेलिभिजनमा देखिएजस्तै अभिनय गर्ने गर्थ्यौँ। त्यसैले मलाई कलाकारितामा आकर्षित गरेको हुनसक्छ।
चलचित्रमार्फत अभिनय यात्रा कसरी सुरुआत भयो ?
म अध्ययन नै गरिरहेकी थिएँ। सोही क्रममा म सौन्दर्य प्रतियोगिता ‘मिस टिन’ मा सहभागी भएँ। त्यसपछि म ‘मोडलिङ’ गर्दै थिएँ, केही ‘म्युजिक भिडिओ’मा समेत अभिनय गरेँ। तर, त्यो बिस्तारै भइरहेको थियो। सोही क्रममा निर्माता सुनिल रावलले मलाई चलचित्रमा अभिनय गर्न प्रस्ताव गर्नुभयो। मैले अभिनय गर्ने मनसाय बनाएको थिइनँ, तर एक पटक भेटेर कुरा गर्ने भन्ने भयो। भेटघाटका क्रममा चलचित्रको कार्यशाला भइरहेको थियो। त्यो माहोलले मलाई चलचित्रमा अभिनय गर्न प्रेरित गर्यो तर त्यो अर्कै चलचित्रको लागि थियो, पछि मेरो सहकार्य सोही समूहसँग ‘होस्टल रिटन्स’मार्फत भयो।
‘कुटुमा कुटु’ गीतमा कसरी नृत्य गर्ने अवसर जुर्यो ?
मैले बिस्तारै अभिनय यात्रा प्रारम्भ गरेकी थिएँ। मेरो विवाह निर्देशक निश्चल बस्नेतसँग भइसकेको थियो। ‘कुटुमा कुटु’ गीत रहेको चलचित्र ‘दुई रुपैयाँ’ मा मेरो श्रीमान् निश्चल पनि निर्माण र अभिनयमा सहभागी हुनुहुन्थ्यो। उक्त समयमा एउटा गीतमा अतिथि भूमिका गर्नुपर्ने भएकाले मलाई नै प्रस्ताव गरिएको थियो। त्यो समयमा बिस्तारै लोक गीत(सङ्गीत चलचित्रमा प्रयोग हुन थालेको थियो। चलचित्रको दृश्य सकिएपछि हामीले इटहरीमा उक्त गीतको छायाङ्कन गरेका थियौँ। केही पारिवारिक कारणले पनि उक्त गीतको छायाङ्कनको समयमा धेरै कठिनाइ भएको थियो। तर, त्यो गीतले मलाई बृहत् रूपमा चिनाउन मद्दत गर्यो।
चलचित्र ‘बुलबुल’ले तपाईंको अभिनय क्षमतालाई प्रस्ट्यायो, त्यो चलचित्र गर्ने निर्णय कसरी लिनुभयो ?
मलाई मेरो श्रीमान् बस्नेतमार्फत नै ‘बुलबुल’को प्रस्ताव आएको थियो किनकि त्यो चलचित्रका लेखक तथा निर्देशक मेरो श्रीमान्सँग चलचित्रसम्बन्धी अध्यन गर्नुभएको थियो। मलाई त्यो पटकथा पढ्नेले तिमीलाई सुहाउँदैन होला कि भन्ने गर्थे। त्यही कारण नै मैले त्यो चलचित्र गरे। त्यस अगाडि मैले गरेका कामको आधारमा मैले यो सक्छु, यो सक्दिन वा यो मात्र गर्नुपर्छ भन्ने मानसिकता बनाउनु सही होइन। त्यसलाई मैले एउटा ‘च्यालेन्ज’का रूपमा लिएँ। मभन्दा त्यो पात्र भिन्न थियो। त्यसकारण पनि मैले यसलाई निर्वाह गर्न मेहनत गरेँ।
‘बुलबुल’ को पात्रले तपाईंलाई के दियो ?
म बिहान टेम्पो चलाउन सिकेर दिउँसो चलचित्रको कार्यशालामा सहभागी पात्रलाई तयार गरेकी हुँ। त्यो पात्रले मलाई भिन्न जीवन र जीवनशैलीसँग परिचित गरायो। त्यो मेरा लागि नयाँ अनुभूति थियो।
तपाईंले अभिनय गर्नुभएको ‘चिसो मान्छे’ पनि पोस्टरकै कारण चर्चामा आएको थियो। त्यो पात्र निर्माण कसरी भएको थियो नि ?
‘बुलबुल’ चलचित्रपछि मलाई निकै चर्चामा ल्याएको पात्रलाई मैले ‘चिसो मान्छे’ चलचित्रमा निर्वाह गरेकी थिएँ। त्यो चलचित्रका लागि मैले सुदूरपश्चिममा बोल्ने भाषा नै सिकेकी थिएँ। म अहिले त्यताको भेगको मान्छे भेट्दा यो ठाउँको हुनहुन्छ भनेर म चिन्न सक्छु। त्यो पात्रले पनि मलाई भिन्न छाप छाडेको छ। यसलाई मैले मनदेखि नै ‘इन्जोय’ गरेकी थिएँ। त्यो पात्रले मलाई केही सिकाएको छ।
चलचित्र निर्मात्री बन्न के कुराले प्रेरित गर्यो ?
मलाई चलचित्र बनाउँछु भन्ने लागेको थिएन। म निर्मात्रीभन्दा पनि निर्देशनमा सोच बनाएकी थिएँ। म तत्कालै नभई भविष्यमा निर्देशन गर्छु भन्ने सोच बनाएकी थिएँ तर मलाई एउटा पटकथा आयो, त्यो केवल अभिनयको लागि थियो। त्यतिबेला त्यसको नाम ‘बेहुली फ्रम मेघौली’ थिएन तर मलाई पटकथाले तान्यो। मैले पटकथा पढेको देखेर मेरो श्रीमान्ले पनि चासो लिनुभयो। त्यसपछि हामीले नै चलचित्र निर्माणमा सघाउने प्रस्ताव राखेका थियौँ। कहिलेकाहीँ निर्देशक र पटकथा राम्रो हुँदाहुँदै पनि सही तरिकाले बजारसम्म पुग्दैन। त्यसैले हामी निर्माणमा जोडिएका हौँ। एउटा राम्रो कथालाई सही तरिकाले दर्शकसम्म पुर्याएको आभाष भएको छ।
अभिनय गर्न थालेको एक दशकपछि ‘लालीबजार’का लागि ‘अडिसन’ नै दिनुभयो, किन नि ?
मैले पहिलो चलचित्रका लागि पनि ‘अडिसन’ दिएको थिइन्। कार्यशालामै कुरा भएर चलचित्रमा अभिनय गरेकी थिएँ तर मलाई कहिले पनि ‘अडिसन’ हो वा ‘लुक टेस्ट’ गर्नु हुँदैन भन्ने लागेन। किनकि जो आफ्नो काममा गम्भीर छ, उसले यस्ता जाँच गरेर नै चलचित्र निर्माण सुरु गर्छ। मलाई ‘लालीबजार’ को नामले नै आकर्षित गरेको थियो। चलचित्रको निर्माण घोषणा हुँदा म आबद्ध थिइनँ। यसको विषयवस्तु नौलो भएकाले नै मैले पनि ‘लुक टेस्ट’ गरेर मेरो पात्रलाई बुझ्न खोजेकी थिएँ। पहिलो सार्वजनिक पोस्टरले नै पाएको चर्चाले हामीलाई झनै गम्भीर भएर काम गर्नुपर्छ भन्ने दायित्व बोध गरायो। हामी छायाङ्कनस्थलमा पुगेर वादी समुदायका महिलालाई भेटेर, अनुसन्धान गरेर चलचित्रलाई तयार गरेका छौँ। अहिले आफूलाई चाहिने जानकारी डिजिटल माध्यममार्फत लिने प्रचलन छ, तर हामीले वादी समुदायसँग जोडिएका डिजिटल सूचना निकै कम पायौँ। हामी समुदायकै महिलासँग पुगेर बुझ्दा केही रहेका जानकारी पनि भ्रामक रहेको आभाष भयो। सम्भवतः यो चलचित्र आगामी पुस्ताका लागि एउटा ‘डिजिटल दस्ताबेज’ पनि हुनेछ।
‘लालीबजार’ कस्तो खालको चलचित्र हो ?
चलचित्रमा आमा र छोरीको कथा देखाइएको छ तर आमा वादी समुदायकी महिला हुन्छिन्। यो एउटी महिलाले आफ्नो छोरीका लागि गाउँ, समाज र समुदायसँगै राज्यसँग गर्ने सङ्घर्षको कथा हो। यसले वादी समुदायमा रहेकी महिलाको बाध्यता, विवशता र सङ्घर्षलाई चित्रण गरेको छ। यो गम्भीर विषयमा बनेको छ तर यसले समुदायलाई चोट पुर्याउने नभई गर्व गर्ने कथा देखाउने छ भन्नेमा विश्वस्त छु।
तपाईंको भूमिका कस्तो छ चलचित्रमा ?
चलचित्रमा मेरो पात्रको नाम ‘मधुवाला’ हुन्छ। यसलाई मैले बर्दियामै रहनुभएका वादी समुदायको महिलासँग कुराकानी गरेर तयार गरेकी हुँ। साथै, हाम्रो निर्देशक यम थापा त्यहाँकै हुनुहुन्छ, जसले उक्त समुदायलाई बाल्यकालदेखि नै देख्दै र बुझ्दै आउनुभएको छ। निर्देशक थापाको बुझाइ र हाम्रो अनुसन्धानलाई मिश्रण गरेर पात्र तयार गरेका छौँ। मधुवालाले आफ्नो आफ्नो परिवारको जीविकोपार्जनका लागि गर्ने सङ्घर्ष नै चलचित्रको कथा हो। अहिले दर्शकले सार्वजनिक श्रव्यदृश्य सामग्रीमार्फत गरिरहनुभएको अनुमानभन्दा चलचित्र भिन्न छ।
तपाईंका लागि ‘लालीबजार’ कतिको महत्त्वपूर्ण छ ?
मैले धेरै वर्षसम्म सम्झिने चलचित्र हो, ‘लालीबजार’ किनकि यसमा मैले वादी समुदायको महिलाको भूमिका निर्वाह गरेकी छु। हाम्रो पहिलो सार्वजनिक पोस्टर नै चर्चामा आएको थियो, जहाँ एउटी गर्भवती महिला शृङ्गार गरेर ढोकामा उभिएकी थिइन्। पेटमा रहेको बच्चाका लागि उनले आफूलाई आराम दिन सकेकी छैनन्। त्यहीँबाट यो एउटी आमाको कथा हो भन्ने प्रस्ट भएको थियो। मेरो अभिनय यात्रामा ‘बुलबुल’ र ‘चिसो मान्छे’पछि मलाई चिनाउने चलचित्र ‘लालीबजार’ बन्नेमा विश्वस्त छु। मेरो चर्चा हुँदा यी तीन चलचित्रको चर्चा पनि धेरै वर्षसम्म हुनेछ। राष्ट्रिय समाचार समिति
