काठमाण्डौं । सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल र प्रधानन्यायाधीशमा सिफारिस गरिएका न्यायाधीश डा. मनोजकुमार शर्मा इजलासमा बसेका छैनन्। सर्वोच्च अदालतमा शुक्रबार १४ वटा इजालस तोकिएका छन्। तर, मल्ल र शर्मा कुनै पनि इजलासमा बसेका छैनन्।
त्यस्तै, अर्का न्यायाधीश तिलप्रसाद श्रेष्ठ पनि आजको इजलासमा छैनन्। बाँकी १५ जना न्यायाधीशका इजलास गठन गरिएका छन्। बिहीबार संवैधानिक परिषद्ले डा। शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने निर्णय गरेको थियो। पहिलो वरीयतामा रहेकी कायम मुकामय प्रधानन्यायाधीश मल्ल रोलक्रममा भए पनि संवैधानिक परिषद्ले चौथो नम्बरमा शर्मालाई रोजेको हो। आज बिहान बसेको सर्वोच्च अदालतका न्यायधीशहरुको फुलकोर्ट बैठकमा पनि दुबै जना बसेका थिएनन् ।
वरीयता र स्थापित परम्परा मिचेर प्रधान न्यायाधीशमा चौथो वरीयताका मनोजकुमार शर्माको नाम सिफारिस भएको असर सर्वोच्च अदालतको पेसी व्यवस्थापनमा देखिएको हो । पछिल्लो समय साढे ९ देखि पौने १० भित्र दैनिक पेसी सूची सार्वजनिक हुनेगरेको भए पनि आज पौने ११ बजेमात्र सर्वोच्चको वेबसाइटमा पेसी सूची चढेको हो ।
