जुम्ला । सातौँ संस्करणको जुम्ला–रारा अल्ट्रा म्याराथनको सम्पूर्ण तयारी पूरा भएको छ। वैशाख २६ गते हुने प्रतियोगिताअघि आयोजकले ट्रफी र मेडल सार्वजनिक गरेका छन्। प्रमुख जिल्ला अधिकारी दीपक पौडेल र ओलम्पियन तथा एभरेस्ट म्याराथन ह्याट्रिक विजेता हरिबहादुर रोकायाले पत्रकार सम्मेलनमार्फत ट्रफी तथा मेडल सार्वजनिक गरेका हुन्। उनीहरूले यो प्रतियोगिताले कर्णाली क्षेत्रको साहसिक पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेलेको बताए।
यस वर्षको प्रतियोगितामा स्वदेशसँगै अमेरिका, भारत, इटाली र फ्रान्सका धावकहरूको सहभागिता रहनेछ। कर्णाली खेलकुद क्लबका अनुसार ५४ किलोमिटरतर्फ १ सय ३५, १० किलोमिटरतर्फ २ सयभन्दा बढी र ५ किलोमिटरतर्फ ६ सय ५० भन्दा बढी धावकले नाम दर्ता गराएका छन्। अघिल्ला संस्करणमा ५१ किलोमिटर रहेको दूरी यसपटक ५४ किलोमिटर बनाइएको छ।
प्रतियोगितामा ५४ किलोमिटरतर्फ प्रथम हुनेलाई एक लाख रुपैयाँ, दोस्रोलाई ७५ हजार र तेस्रोलाई ५० हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ। चौथो र पाँचौँ हुनेले जनही २० हजार रुपैयाँ पाउनेछन्। महिला विजेताका लागि अमृता कठायत ९बस्नेत०को सम्झनामा अतिरिक्त २५र२५ हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ। त्यस्तै, १० किलोमिटर ९१८ वर्षमुनि० तर्फ शीर्ष तीनले क्रमशः १० हजार, ७ हजार र ५ हजार रुपैयाँ पाउनेछन् भने ५ किलोमिटरतर्फका विजेताले ५ हजार, ३ हजार र २ हजार रुपैयाँ प्राप्त गर्नेछन्।
प्रतियोगितामा सहभागी हुन विभिन्न जिल्लाबाट खेलाडीहरू जुम्ला आइपुगेका छन्। सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका–२ की २० वर्षीया आङफुर्वा सेर्मा दोस्रो पटक सहभागी हुँदैछिन्। उनले अघिल्लो संस्करणमा आठौँ स्थान हासिल गरेकी थिइन् र यसपटक उपाधि जित्ने लक्ष्य लिएको बताइन्। यस्तै, महाकुलुङ गाउँपालिका–४ का मिलन राई पनि दोस्रो पटक प्रतिस्पर्धामा सहभागी हुँदैछन् भने मुगुको छायानाथ रारा नगरपालिका–तिर्पका शिवकृष्ण रोकाया तेस्रो पटक प्रतिस्पर्धामा उत्रिँदैछन्। फ्रान्सका एडगर गोर्डिनले पनि पुनः सहभागिता जनाएका छन्।
कर्णाली स्पोर्ट्स क्लबका अध्यक्ष सरोज शाहीका अनुसार प्रतियोगिताले कर्णालीको प्राकृतिक सौन्दर्य र खेल पर्यटनलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन योगदान पुर्याउँदै आएको छ। जुम्लादेखि रारा तालसम्मको कठिन भूगोल पार गर्ने यो म्याराथनले कर्णालीलाई साहसिक खेलको गन्तव्यका रूपमा स्थापित गरिरहेको उनले बताए।
चन्दननाथ भैरवनाथ मन्दिरबाट सुरु हुने दौड डाँफेलेक, काभ्रागुफा, भुलभुले हुँदै चुचेमारा लेक पार गरी रारा तालमा पुगेर सम्पन्न हुनेछ। साथै, दौड पूरा गर्ने खेलाडीहरूको सम्मानमा सहभागी संख्या बराबर वृक्षारोपण गर्ने योजना पनि आयोजकले अघि सारेको छ। यो प्रतियोगिताले जुम्लाको पहिचान विस्तारसँगै खेलकुदमार्फत पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण टेवा पुर्याउँदै आएको छ।
