काठमाडौं । काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले सुकुम्बासी बस्ती हटाएर खाली गराइएको सार्वजनिक जग्गाको संरक्षणका लागि काम थाल्न निर्देशन दिएकी छन्। थापाथलीस्थित वागमती नदी किनाराको निरीक्षणपछि उनले वागमती सभ्यता एकीकृत विकास समितिलगायत सरोकारवाला कार्यालयसँग समन्वयमा तारबार लगाउने काम थाल्न निर्देशन दिएकी हुन्।
शनिबार काठमाडौंको थापाथलीस्थित बागमती नदी किनारमा अतिक्रमण गरी निर्माण गरिएका १४३ घरटहरा भत्काइएको थियो। जोखिमयुक्त क्षेत्रमा निर्माण गरिएका ती संरचना भत्काइएपछि घरबारविहीन बनेका ३४ परिवारका ११५ सदस्यलाई महानगरपालिकाको सहयोगमा राधास्वामी सत्सङ्ग भवन कीर्तिपुरमा राखिएको छ।
काठमाडौं उपत्यकाका चार स्थानमा सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमित गरेर बनाइएका एक हजार २७२ घरटहरा भत्काइएको केन्द्रीय प्रहरी प्रवक्ता अविनारायण काफ्लेले जानकारी दिए।
