काठमाण्डौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले कम्युनिष्ट आन्दोलनको समग्र पुनर्गठनका लागि आह्वान गरेका छन्। नेपाली कम्युनिष्ट पार्टीको ७७औँ स्थापना दिवस तथा लेनिन जयन्तीको अवसरमा बुधबार शुभकामना सन्देश जारी गर्दै उनले यस्तो बताएका हुन्।
उनले समाजमा शोषण र विभेद कायम रहेसम्म कम्युनिष्ट पार्टीको औचित्य रहने उल्लेख गरेका छन्। सन्देशमा उनले भनेका छन्, ‘साँचो अर्थमा जनताको आफ्नै व्यवस्था पूर्ण रूपमा स्थापित हुन सकेको छैन। त्यसैले समाजमा विभेद रहँदासम्म कम्युनिष्ट पार्टीको औचित्य रहिरहनेछ।’ उनले प्राप्त उपलब्धिका रक्षा गर्दै समाजवादको लक्ष्य प्राप्त गर्न सबै वामपन्थी र कम्युनिष्ट शक्तिबिच एकता हुनुपर्नेमा जोड दिए। उनले शान्ति सम्झौता र गणतन्त्रका पक्षधर शक्तिबीच मोर्चाबन्दी अपरिहार्य रहेको समेत बताएका छन्।
