काठमाण्डौं । सरकारका प्रवक्ता एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मीत पोखरेलले छुट्टै ‘गोप्य’ सञ्चार च्यानल बनाउने कुनै निर्णय नभएको जानकारी दिए। उनले सामाजिक सञ्जालमा लेख्दै सरकारले हरेक मन्त्रीलाई आइफोन दिन लागेको भन्ने विषय कसैको परिकल्पनाको भ्रामक कथा मात्र भएको बताएका छन् । यस्तो कल्पना कसरी निर्माण भयो भन्ने जिज्ञासा पनि उनले राखेका छन् ।
उनले भनेका छन्, ‘कसको कल्पनामा किन निर्माण भयो रु यस्ता कुरा साझा गर्नुअघि यसको स्रोत र विश्वसनीयता सुनिश्चत गर्नुहोला ।’ उनले थपेका छन्, ‘यो सरकार, हरेक पल कसरी नागरिकलाई सुन्दर भविष्य दिन सकिन्छ भनेर लागेको छ, नागरिकको करको पैसाको दुरूपयोग गर्न हैन । जनताको हरेक रुपैयाँको मूल्य हामीले अनुभूत गरेका छौँ ।’
परराष्ट्रमन्त्री शिशिर खनालले मन्त्रीहरूलाई अतिरिक्त फोन र सिम वितरण गरिएको सूचना भ्रामक भएको भन्दै जनतामा अफवाह फैलाउनु गलत भएको प्रतिक्रिया दिए। सञ्चार तथा सूचना प्रविधिमन्त्री डा विक्रम तिमिल्सिनाले मन्त्रीहरूले आ–आफ्नै फोन प्रयोग गरिरहेको र सरकारी संयन्त्रमा अभाव महसुस नभएको बताए ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनील लम्सालले पनि उक्त सूचना भ्रामक भएको भन्दै पत्रकारिताका नाममा गलत सूचना फैलाउन नहुने बताए। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले व्यावहारिक रूपमा सबै मन्त्रीलाई छुट्टै फोन वितरण गर्ने कुरा सम्भव नभएको भन्दै गलत सूचना प्रवाह नगर्न आग्रह गरिन्।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र सङ्घीय मामिला तथा सामान्य प्रशासन एवं भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री प्रतिभा रावलले पनि यस्तो निर्णयबारे आफूलाई जानकारी नभएको बताए।
