काठमाडौँ । आज नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षीय नेताहरुको अनौपचारिक बैठक बस्ने भएको छ । शुक्रबार विशेष महाधिवेशनबाट आएको केन्द्रीय कार्यसमितिलाई नै मान्यता दिने सर्वोच्च अदालतको फैसलापछि देउवा पक्षीय नेताहरुको अनौपचारिक बैठक बस्ने भएको हो ।
कांग्रेसका तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काको निवासमा अपराह्न ४ बजे बस्न लागेको बैठकमा अदालतको फैसलापछि कसरी अघि बढ्ने भन्नेबारेमा छलफल केन्द्रित हुने कांग्रेस नेता प्रकाशशरण महतले जानकारी दिएका छन् ।
अदालतको फैसला पछि देउवा पक्षका केही नेताहरुले मिश्रित प्रतिक्रिया दिँदै आएका छन् । केही नेताले विशेष महाधिवेशनबाट आएको केन्द्रीय कार्यसमितिलाई स्वीकारेर आगामी १५ औं नियमित महाधिवेशनमा जानुपर्ने धारणा राख्दै आएका छन् भने केहीले अदालतको फैसलालाई अस्वीकार गर्नुपर्ने बताउँदै आएका छन् ।
स्रोतका अनुसार नेता खड्कासँग केन्द्रीय सदस्यहरू मीन विश्वकर्मा, गुरुराज बराल, नैनसिंह महर, कुन्दनराज काफ्ले, उर्मिला थपलियालगायतका नेताहरूले छलफल गरेका छन् । नेता खड्काले आफूनिकट नेताहरूसँग परामर्श गरेर अदालतको निर्णयपछि आफूले लिने आगामी मार्गबारे वक्तव्यमार्फत् औपचारिक जानकारी सार्वजनिक गर्ने तयारी गरेका छन् ।
