काठमाण्डौं । संघीय संसद्का १२ विषयगत समितिको सभापति चयन आज हुने भएको छ। प्रतिनिधिसभा अन्तर्गतका १० वटा विषयगत समिति र २ वटा संयुक्त समिति रहेका छन्। बिहीबार प्रतिनिधिसभाका १० र २ संयुक्त समितिको सभापतिमा मनोनयन दर्ता भएको थियो। सचिवालयका सचिव हर्कराज राईका अनुसार आज बस्ने सम्बन्धित समितिको बैठकमा सभापति निर्वाचन गर्ने कार्यसूची छ।
समिति सभापतिको निर्वाचन कार्यक्रमअनुसार शुक्रबार ( आज ) अपराह्न १–०० बजे बस्ने सम्बन्धित समितिको बैठकमा सभापतिको मनोनयनसम्बन्धी प्रस्ताव निर्णयार्थ प्रस्तुत गरिनेछ। सचिवालयले सार्वजनिक गरेको सूचीअनुसार अर्थ समितिको सभापतिमा डा. कृष्णहरि बुढाथोकी, अन्तरराष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा सुम्निमा उदास, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा रहवर अन्सारीको मनोनयन दर्ता भएको छ। त्यस्तै, कानुन, न्याय तथा मानवअधिकार समितिमा समीक्षा बास्कोटा, राज्य व्यवस्था तथा सुशासन समितिमा हरि ढकाल र सार्वजनिक लेखा समितिमा कांग्रेसका भरतबहादुर खड्काको मनोनयन परेको छ।
महिला तथा सामाजिक मामिला समितिमा आकृति अवस्थी, पूर्वाधार विकास समितिमा आशिष गजुरेल र कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिमा अशोक चौधरीले उम्मेदवारी दर्ता गराएका छन्। शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का डा। ओजस्वी शेरचन र नेपाल कम्युनिष्ट पार्टी ( एमाले) का गुरुप्रसाद बरालको मनोनयन दर्ता भएको छ।
संघीय संसद्को संयुक्त समितिका रूपमा रहेको संसदीय सुनुवाइ समितिको सभापतिमा बोधनारायण श्रेष्ठको उम्मेदवारी परेको छ। यस्तै, राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समिति सभापतिमा रास्वपाका गणेश कार्की र नेपाली कम्युनिष्ट पार्टीकी सांसद मदनकुमारी शाह ( गरिमा ) को मनोनयन दर्ता भएको छ।
