काठमाडौं । राजावादीहरूको प्रदर्शनको क्रममा प्रहरीसँग झडप हुँदा पाँचजना घाइते भएका छन् । घाइते हुनेमा दुई प्रहरी तीन प्रदर्शनकारी रहेको बताइएको छ । उनीहरूको तीनकुनेस्थित कान्तिपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
राजावादीहरू प्रहरीेको घेरा तोडेर निषेधित क्षेत्रतर्फ प्रवेश गर्न खोजेपछि झडप उत्पन्न भएको हो । त्यसक्रममा प्रहरीले सुरुमा लाठी प्रहार गरेको थियो भने राजावादीहरू नरोकिएपछि अश्रुग्यास प्रहार गरेको थियो । राजावादीहरूले कार्यक्रम आयोजना गर्न बनाइएको मञ्चतर्फ लक्षित गर्दै प्रहरीले अश्रुग्यास प्रहार गरेपछि मञ्चमा रहेका नेताहरू समेत तितरबितर भएका थिए ।
प्रहरीले आन्दोलनकारीहरू निषेधित क्षेत्र तोडेर अघि बढ्न खोजेपछि लाठीचार्ज, अश्रुग्यास र पानीको फोहोरा प्रयोग गर्नुपरेको बताएको छ । सो क्रममा प्रदर्शनकारीले प्रहरीमाथि ढुंगामुढा गरेका थिए । अहिले पनि तीनकुने क्षेत्रमा राजावादी समूहले वर्तमान व्यवस्थाको विरोधमा नाराबाजी गरिरहेका छन् ।