काठमाडौँ । वर्तमान व्यवस्था विरोधी राजावादी समूह ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ले चैत २१ गतेदेखि आन्दोलनलाई सशक्त बनाउँदै लैजाने घोषणा गरेको छ । बिहीबार राजधानीमा पत्रकार सम्मेलन गरेर समितिका संयोजक नवराज सुवेदीले सरकारले आफूहरुको शान्तिपूर्ण आग्रहलाई बेवास्ता गरेको खण्डमा चैत २१ गतेदेखि आन्दोलनलाई सशक्त बनाउँदै लैजाने बताए ।
उनले चैत १६ गते तीनकुनेमा प्रदर्शन हुने र चैत १६ गते उपत्यकामा घोडेजात्रा पर्व परेकाले कुनै पनि कार्यक्रम नराखिएको बताए । तर चैत्र १७ गतेदेखि आन्दोलनका थप कार्यक्रमहरु हुँदै जाने उनको भनाइ छ । ‘आजको मितिले एक हप्ताभित्र सरकारले हाम्रो शान्तिपूर्ण आग्रहलाई बेवास्ता गरेको खण्डमा हामी हाम्रो आन्दोलनलाई चैत्र २१ गतेदेखि सशक्त बनाउँदै लैजान बाध्य हुनेछौँ। त्यसबाट सृजित नतिजाको सम्पूर्ण जिम्मेवारी सरकारले लिनु पर्नेछ’, उनले भने ।
नवराज सुवेदी नेतृत्वको राजसंस्था पुनर्स्थापना संयुक्त जनआन्दोलन समितिले गणतन्त्रवादीहरूलाई चेतावनी दिएको छ। उनीहरूले भनेका छन्, क्रिया भए प्रतिक्रिया हुन्छ। बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गरेर १० बुँदे विज्ञप्ति जारी गर्दै समितिले यसो भनेको हो। नेपाली समाजले अब थप द्वन्द्व, मुठभेड, तोडफोड आगजनी र आमहड्ताल, ध्वंसात्मक हिंसा(प्रतिहिंसा र गृहकलह धान्न वा सहन गर्न नसक्ने धरातलीय यथार्थप्रति संवेदनशील भएर हामीले अहिंसात्मक एवं शान्तिपूर्ण सहकार्यको प्रक्रिया तथा मार्ग रोजेका छौँ। तर, विज्ञानको नियमअनुसार क्रिया भएपछि प्रतिक्रिया त हुन्छ नै। यदि यसलाई हाम्रो कमजोरी ठानेर बेवास्ता वा उपेक्षा भएमा त्यसको परिणामअनुकूल नहुन सक्छ, त्यहाँ भनिएको छ।
त्यसैले आफूहरूको माग शान्तिपूर्ण ढङ्गबाटै पूरा गर्न समितिले भनेको छ। त्यसैले हाम्रो पहिलो प्राथमिकता राजसंस्था पुनर्स्थापना गरेर सर्वपक्षीय सम्मेलनबाट सहमतिको बाटोमा अघि बढ्न सकियोस् भन्ने रहेको छ,समितिले भनेको छ . उनले नवगठित संयुक्त जनआन्दोलन समितिमा ‘जनकमाण्डर’को जिम्मा दुर्गा प्रसाईलाई दिइएको समेत बताए ।