काठमाडौँ। नेकपा ( माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले लोकतन्त्रमा बिरोधका विभिन्न रूप हुने भन्दै फोटो जलाउँदैमा गिरफ्तार गर्नु उचित नहुने धारणा राखेका छन् । दाहालले कसैको तस्बिर जलाउँदैमा पक्राउ गर्न नहुने बताएका छन् । हेटौंडामा आफ्नो तस्बिर जलाएको आरोपमा प्रहरीले राप्रपा नेतालाई पक्राउ गरेपछि पूर्वप्रधानमन्त्री दाहालले लोकतन्त्रमा विरोध गरेकै आधारमा पक्राउ गर्न नहुने प्रतिक्रिया दिएका हुन् ।
दाहालले फेसबुक पेजमा लेखेका छन्, लोकतन्त्रमा विरोधका विभिन्न रूप हुन्छन्। फोटो जलाउँदैमा गिरफ्तार गर्नु उचित हुँदैन ।हेटौंडामा शनिबार पूर्वप्रधानमन्त्री दाहालको फोटो जलाउने राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० निकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन केन्द्रीय समितिका सचिव निराजन बमलाई प्रहरीले पक्राउ गरेको हो । भरतपुर विमानस्थलबाट काठमाडौं जान लागेका बमलाई चितवन प्रहरीले आइतबार पक्राउ गरेको हो ।
बमविरुद्ध कसले उजुरी गर्यो भन्ने प्रहरीले खुलाएको छैन । मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले बमलाई चितवनमा पक्राउ गरिएको पुष्टि गरेका छन् ।पूर्वप्रधानमन्त्रीको फोटो जलाउने कार्य गलत र आपराधिक क्रियाकलाप भएकाले पक्राउ गरिएको प्रवक्ता अर्यालको भनाइ छ । राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन मकवानपुरको अधिवेशनको उद्घाटन कार्यक्रममा शनिबार हेटौंडामा संघीय सांसद दीपकबहादुर सिंहको उपस्थिति रहेको कार्यक्रममा बमले पूर्वप्रधानमन्त्री दाहालको फोटो जलाएका थिए ।
बमलाई पक्राउ गरिएको विरोधमा राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनले विज्ञप्ति जारी गरेको छ । संगठनका सयोजक सुजित केसीले विज्ञप्ति जारी गर्दै बमलाई पक्राउ गरेर सरकारले नागरिकको वैयक्तिक स्वतन्त्रतालाई अवरोध गरेको आरोप लगाएको छ ।