काठमाडौं । पोखरा भ्रमण वर्ष उद्घाटन गर्ने क्रममा बेलुन फुटेर विस्फोट हुँदा घाइते भएका उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको कीर्तिपुरस्थित बर्न अस्पताल उपचार जारी छ ।
पोखरामा घटनालगत्तै मन्त्री पौडेल र मेयर आचार्यलाई हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको थियो । उनीहरुको अहिले अस्पतालमा उपचार भइरहेको अस्पतालका निर्देशक डा। किरणकिशोर नकर्मीले बताएका छन् । प्रारम्भिक मूल्यांकनअनुसार ५. ६ प्रतिशत जलेको, तर अनुहारमा जलन भएकाले श्वासनली र फोक्सोमा असर पर्नसक्ने सम्भावना भएकाले उच्च निगरानीमा उपचार गर्नुपर्ने आवश्यकता देखिएको उनले बताए ।
अस्पतालले जारी गरेको बिज्ञप्ती अनुसार प्रा.डा. बि डि झा, डा . प्रबिण गिरी लगायतको सघन उपचार कक्षको टोली, प्रा. डा. शंकरमान राई, डा, बिशाल कार्की, डा, मनिष यादव लगायतको जलन बिशेषज्ञको टोली, डा . प्रयुष अर्याल लगायत आकस्मिक उपचार टोली, रिना गौचन, निर्मला कुवँर, तृष्णा महर्जन लगायतको नर्सिङ्ग टोली उपचारमा संलग्न रहेको छ ।