काठमाण्डौं । सत्तारुढ दल नेकपा एमालेको संसदीय दलको बैठक आज बस्दै छ । दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संसद भवनमा बस्ने गरी बैठक बोलाइएको हो ।
आगामी हिउँदे अधिवेशनबारे छलफल गर्न संसदीय दलको बैठक बोलाइएको बताइएको छ । आजको बैठकमा सरकारको कामकारबाहीका सम्बन्धमा संसदमा प्रतिरक्षा गर्ने लगायतको विषयमा छलफल गर्ने तयारी बताइएको छ ।
सरकारले संसद छलेर अध्यादेश ल्याएको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रलगायत विपक्षी दलहरूले सदनमा आवाज उठाउने तयारी गरेका छन् । आजको बैठकमा त्यसबारेमा पनि छलफल हुनेछ । मन्त्रिपरिषद् बैठक सकिए लगत्तै एमाले संसदीय दलको बैठक बोलाईएको हो ।