काठमाण्डौं । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले अब बन्ने घर संरचनाहरू भूकम्प प्रतिरोधी बनाउनु आजको आवश्यकता भएको बताए। सोमबार काठमाडौँमा २७ औं भूकम्प सुरक्षा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले नेपाल बाढी, पहिरो, महामारी, आगलागी, भूकम्प लगायतका कयौँ प्रकोपहरूबाट बारम्बार प्रभावित हुने गरेको जिकिर गरे।
मन्त्री सिंहले भूकम्पका कारण हुने जनधनको क्षति कम गर्न राष्ट्रिय भवन संहिता पालना गर्नु अपरिहार्य रहेको बताएका छन्। मन्त्री सिंहले पछिल्लो समय लगातार विभिन्न खालका विपद्जन्य घटनाबाट प्रभावित हुँदै आएको भन्दै बाढी, पहिरो, महामारी, आगलागी, चट्याङ, शितलहर लगायतका विपद्का घटनाहरूबाट सुरक्षित हुन त्यसै अनुसार पूर्वतयारी तथा खोज उद्धार अवस्थामा सुधार गर्नु आवश्यक रहेको बताए। उनले इतिहासबाट पाठ सिक्दै अब बन्ने घर संरचनाहरू भूकम्प प्रतिरोधी बनाउनु आजको आवश्यकता भएको बताए।
उनका अनुसार जोखिम न्यूनीकरणका सम्बन्धमा भवन लगायत भौतिक संरचना सुरक्षित तवरले निर्माण गर्नका लागि जनचेतना फैल्याउनु पनि उत्तिकै आवश्यक छ। निर्माण भएका कानूनको प्रभावकारी कार्यान्वयन र कानूनी जटिलतालाई सहज बनाउन त्यसमा आवश्यक हेरफेर, आवश्यक नयाँ योजना तथा नीति तर्जुमा गरेर बस्तीहरूलाई सुरक्षित राख्नुपर्नेमा जोड उनले दिए। उपप्रधानमन्त्री सिंहले प्राकृतिक प्रकोप र विपद्ले भौगोलिक सीमा नभन्ने भन्दै सबैको सहकार्य र सहयोग जरुरी रहेको उल्लेख गरे।