काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलको बैठक सिंहदरबारस्थित पार्टीको संसदीय दलको कार्यालयमा आईतवार दिउँसो २ बजे बस्दैछ । संघीय संसद् अधिवेशन सुरु हुनुअघि आवश्यक रणनीति तय गर्नका लागि कांग्रेस संसदीय दलको बैठक बस्न लागेको हो ।
शनिवार बसेको पार्टीको बैठकले सरकारले ल्याएको अध्यादेशमा कुनै सांसदको व्यक्तिगत असहमित भएपनि सदनमा प्रस्तुत गर्न नपाईने निर्णय गरिएको प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिए । आज र भोली संसदीय दलमा सांसदहरुका बीचमा पनि सघनरुपमा छलफल गरेर नेपाली कांग्रेस एउटै आवाज, एउटै स्वरका साथ संसद्मा प्रस्तुत हुने र बाहिर पनि प्रस्तुत हुँदा एकढिक्का भएर प्रस्तुत हुने भन्ने निर्णय भएको छ।’
बैठकमा सरकारले ल्याएका अध्यादेश, आउँदो अधिवेशनमा प्रस्तुत हुने नयाँ विधेयक तथा यसअघि नै प्रस्तुत भइसकेका विधेयकहरूमाथि छलफल हुने घिमिरेले बताए । आउँदो १८ माघबाट संघीय संसद्को अधिवेशन सुरु हुँदै छ । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले अधिवेशन आह्वान गरिसकेका छन् ।
सरकारले अध्यादेश मार्फत देश चलाउन खोजेको भन्दै बिपक्षी दलहरुले बिरोध गरीरहेको अवस्थामा केही काँग्रेस सांसदहरुले समेत यसको बिरोध गरेका थिए । त्यसैले सरकार संचालनमा सहज होस् भनेर सत्ता साझेदार दल नेकपा एमालेसँगको सहकार्यमा अध्यादेश ल्याईएको काँग्रेस शिर्ष नेताहरुले बताउँदै आएका छन् ।