बिराटनगर । कोशी प्रदेश सरकारले पहिलोपटक गर्न लागेको लगानी सम्मेलन तयारी नपुगेका कारण निर्धारित मितिमा नहुने भएको छ ।सरकारले आउँदो माघ ११ गतेदेखि तीन दिनसम्म विराटनगरमा कोशी प्रदेश लगानी सम्मेलन गर्ने जनाएको थियो । तर व्यवस्थापनको जिम्मेवारीका विषयमा विवाद भएपछि लगानी सम्मेलन स्थगित भएको हो ।
प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले अहिलेकै स्थितिमा तोकिएको मितिमा लगानी सम्मेलन हुने सम्भावना नरहेको बताए । लगानी सम्मेलनका लागि मुख्यमन्त्री हिक्मतकुमार कार्कीको नेतृत्वमा मूल आयोजक समितिसहित ५ वटा विभिन्न समिति निर्माण गरिएको थियो । यस्तै व्यवस्थापनको लागि छुट्टै सचिवालयको कार्यालयसमेत सञ्चालन गरिएको थियो । मुख्यमन्त्री कार्कीले उद्योग संगठन मोरङलाई व्यवस्थापनको जिम्मा दिने तयारी गरेका थिए । तर अन्य उद्योगीले यसको विरोध गरेका थिए ।
पहिलोपटक आयोजना हुन लागेको प्रदेशस्तरमा लगानी सम्मेलनका लागि कोशी प्रदेश लगानी प्राधिकरणले ३७ वटा आयोजना सोकेसमा राख्ने तय गरिसकेको थियो । ती ३७ आयोजनाको लागत १ खर्ब चार अर्ब ८५ करोड रहेको छ । जसअनुसार २ अर्ब ५१ करोडका ६ वटा कृषिसँग सम्बन्धित प्रोजेक्ट छन् । यस्तै १ अर्ब १७ करोडका २ वटा जलविद्युत् आयोजना, ६२ अर्ब ६५ करोड बराबरका ८ उद्योग, २४ अर्ब ४३ करोड बराबरको पूर्वाधार निर्माण, ४७ करोडको डाटा सेन्टर, फोहोर व्यवस्थापनका लागि ५० करोडको १ वटा आयोजना, १३ अर्ब १२ करोड बराबरको ११ वटा पर्यटनसम्बन्धी आयोजना छन् ।