काठमाण्डौं । प्रधानमन्त्री केपी ओलीले त्रिभुवन विश्वविद्यालयस्थित क्रिकेट मैदानको प्यारापिट र फ्लडलाइट निर्माणकार्य अब भने समयमै सम्पन्न हुने बताएका छन्। प्यारापिट र फ्लडलाइट निर्माणका लागि पुनः बोलपत्र आह्वान भएसँगै प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत तीन सिफ्टमा काम गरेर निर्धारित समयमै सम्पन्न गर्ने बताएका हुन्।
नयाँ सरकार बनेपछि असार ३१ गते मन्त्रिपरिषद्को पहिलो बैठकमार्फत प्रधानमन्त्री ओलीले तीन सय दिनभित्र त्रिवि मैदानलाई सुविधासम्पन्न बनाउने निर्णय गरेका थिए। ‘क्रिकेट हाम्रो युवा समाजको प्राण हो। क्याबिनेटको पहिलो बैठकबाट हामीले कीर्तिपुरको मैदानमा क्रिकेट रंगशालाको प्यारापिट निर्माण र फ्लडलाइट जडान गर्ने निर्णय गरेका थियौँ। यसका लागि पर्याप्त ध्यान दिएर सुरुमै पारस खड्कासहित क्रिकेट खेलाडीहरूलाई बालुवाटार बोलाएर छलफल पनि गर्यौँ।
त्यसवेला क्यानका पदाधिकारीहरूले पनि बरु अलि समय दिएरै विश्वस्तरको रंगशालाको राम्रो डिजाइन गरौँ, हतार नगरौँ भन्ने सल्लाह दिनुभएको थियो। जग्गा प्राप्ति लगायत झन्झटिलो प्राविधिक प्रक्रियाले सोचेभन्दा बढी समय लाग्यो। त्यसले प्रारम्भिक प्राविधिक डिजाइन तय गर्ने काममा केही ढिलाइ अवश्य भयो,’ ओलीले फेसबुकमा लेखेका छन्।
सो निर्णयअनुसार निर्धारित समयमै काम सकिने भन्दै प्रधानमन्त्रीले आवश्यक सुझाव तथा खबरदारी गर्नसमेत आग्रह गरेका छन्। उनले थप लेखेका छन्, ‘आज यसको निर्माणका लागि बोलपत्र आह्वान भएको छ। अब हामीले तीन सिफ्टमा फटाफट काम गरेर यसलाई निर्धारित समयमै सम्पन्न गर्नुपर्नेछ। यसलाई विश्वस्तरको बनाउने प्लान भने त्यसपछि पनि जारी रहनेछ। काम छिटो सक्न र आवश्यक सुझाव तथा खबरदारी गर्न सबैलाई अनुरोध गर्छु।’