काठमाण्डौं । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले आफ्नो नेतृत्वमा न्यायपालिका पारदर्शी बनाएको र संशय गर्ने ठाउँ नभएको बताएका छन् । न्यायालयले पारदर्शी भई काम गरिरहेकाले कतैबाट असर पर्ने काम गर्न नहुने उनको भनाइ छ । न्यायाधीश समाजले राजधानीमा आयोजना गरेको कार्यक्रममा उनले भने, ‘अहिलेको ज्युडिसियरी पारदर्शी छैन भन्यो भने गम्भीर आपत्ति हुन्छ ।
कसैले शंका र संशय गर्ने ठाउँ छैन । अक्षुण्णता कायम गरेको छ । कतैबाट असर आघात पर्ने कुरा स्वीकार हुन सक्दैन ।’ न्यायालयबारे सही कुरा पनि गलत तरिकाले प्रचार गरिँदा सर्वसाधारणमा भ्रम पर्न सक्ने भएकाले गम्भीर हुन उनले आग्रह गरे । न्यायाधीश सपना प्रधान मल्लले गलत समाचार नागरिकमाझ चर्चित हुने गरेको, तर राम्रा कार्यहरूले उचित प्रशंसा पाउने नगरेको बताइन् । ‘नेपाल रुल अफ ल ९कानुनी शासन०को सूचकांकमा माथि पुग्यो । न्यायिक स्वतन्त्रताका कारण र विशेषगरी विघटनको मुद्दामा न्यायिक स्वतन्त्रता देखाएकाले यो सम्भव भयो, तर त्यसको चर्चा भएन,’ उनले भनिन् ।
न्यायाधीशहरू जुनसुकै पृष्ठभूमिबाट आए पनि परिवारझैँ भएको भनी उनले क्याडरबाहिरबाट वा कर्मचारी पृष्टभूमिबाहिरबाट आएकामाथि टिप्पणी हुने गरेको बताइन् । कानुन व्यवसायी पृष्ठभूमिबाटै आए पनि योग्यताका कारण न्यायाधीश नियुक्त भएकाले सबैलाई एकै ठाउँ एकै तरिकाले लिनुपर्ने उनको भनाइ थियो । ‘हामी सबै केही न केही ब्याकग्राउन्ड भएरै आएका हौँ । सबैजना लिनभन्दा पनि न्यायालयलाई केही दिन आएका छन् । हामी सबै एकै परिवारका सदस्य हौँ,’ उनले भनिन् ।
न्यायाधीश हरि फुयाँलले व्यवस्थापिका र कार्यपालिकाभन्दा बढी न्यायपालिका बलियो भएको बताए । ‘तुलना गर्नुस् । यदि एक्जेक्युटिभले राम्रा काम गरिदिएको भए यति रिट किन आउँथ्यो ? हामी राति १०–१२ बजेसम्म फैसला लेखेर बस्छौँ,’ उनले भने । हरिकृष्ण कार्की प्रतिवेदनका कतिपय कुरा कार्यान्वयनको तहमा पुगेको भन्दै फुयाँलले न्यायपालिकालाई सुदृढ बनाउने कतिपय कुरा केवल न्यायपालिकाको हातमा नरहेकाले सबैतिरबाट सहयोग हुनुपर्ने बताएका थिए ।
न्यायाधीश कुमार रेग्मीले अमुक व्यक्तिबारे भ्रम फैलाउने काम भइरहेकाले प्रजातन्त्रमा अदालत कमजोर बनाउन नहुने बताए । समाजका अध्यक्ष तथा सर्वोच्चका न्यायाधीश तिलप्रसाद श्रेष्ठले न्यायालयका विषयमा सम्प्रेषित समाचार तथा रिपोर्टहरूमा भएका कमजोरी औँल्याएका थिए । न्यायालयलाई राम्रो बनाउन आलोचनात्मक समाचार जरुरी भए पनि सिर्जनात्मक आलोचना हुनुपर्ने उनको भनाइ थियो ।