काठमाडौं । सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग एनपीएलको पहिलो क्वालिफायर खेल्ने भएको छ । लिगको अन्तिम खेलमा सोमबार सुदूरले कर्णाली याक्सलाई हराएपछि प्लेअफको समिकरण तय भएको हो । यस्तै चितवन राइनोज र कर्णाली याक्सले एलिमिनेटर खेल्ने भएका छन् ।
लिग चरणको खेलपछि सुदूरपश्चिम ७ खेलबाट १२ अंक जोडेर शीर्ष स्थानमा रह्यो । समान खेलबाट १० अंक जोडेर जनकपुर दोस्रो भयो । सुदूरसँग पराजित भएपनि कर्णाली चौथो हुँदै प्लेअफ पुगेको हो । चितवनले यसअघि नै ७ खेलबाट ८ अंक जोडेर प्लेअफ पुगिसकेको छ । लिगको अन्तिम खेलमा टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले २० ओभरमा सबै विकेट गुमाएर १०१ रन बनाएको थियो ।
जवाफमा सुदूरपश्चिमले १५।२ ओभर खेल्दै ४ विकेट गुमाएर १०५ रन बनाउँदै लक्ष्य पूरा गरेको हो । सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ३८ रन बनाउदा इशान पाण्डेले अविजित रहँदै ३८ रन नै बनाए । सुदूरपश्चिमले अब जनकपुर बोल्ट्ससँग एनपीएलको फाइनलमा स्थान पाउन प्रतिस्पर्धा गर्नेछ । सुदूरपश्चिमले सोमबार कर्णाली याक्सविरुद्ध ६ विकेटको जित हात पारेपछि क्वालिफायर्स १ को यस्तो समीकरण बनेको हो । सुदूरपश्चिम १२ अंकसहित शीर्षस्थानमा रह्यो । जनकपुरले ७ खेलमा १० अंक बटुल्यो ।
समान ८ अंक जोडेका चितवन राइनोज र कर्णालीले तेस्रो र चौथो स्थानमा रहँदै प्लेअफको इलिमिनेटरमा खेल्नेछन् । यसको विजेता टोलीले क्वालिफायर्स १ को पराजित टोलीसँग फाइनलमा स्थान पाउन खेल्नेछ । बुधबार बिहान इलिमिनेटर र दिउँसो क्वालिफायर्स १ को खेल हुनेछ । चितवन र कर्णालीसँगै समान ८ अंक भए पनि नेट रनरेटमा पछाडि रहेका कारण काठमान्डु गुर्खाज प्लेअफबाट दौडबाट बाहिरिएको हो ।