काठमाण्डौं । १२औँ संस्करणको नेपाल अन्तर्राष्ट्रिय मानव अधिकार चलचित्र महोत्सवअन्तर्गत रेमन्यान्ट्सले नेपाली पानारोमा अवार्ड जितेको छ। बिहीबार सम्पन्न महोत्सवमा धनराज बार्कोटेले निर्देशन गरेको यस फिल्मले अवार्ड हात पारेको हो। महोत्सवमा देवी वृत्तचित्रकी निर्देशक सुबिना श्रेष्ठले उत्कृष्ट महिला फिल्ममेकरको अवार्ड जितिन्। ब्ल्याक रेन इन माई आइजले उत्कृष्ट लघु वृत्तचित्र अवार्ड जितेको छ भने सर्ट फिक्सनजतर्फ द फर्स्ट फिल्मले अवार्ड जित्न सफल भयो।
अवार्ड विजेताहरूलाई प्रतिनिधिसभाका सांसद ठाकुर गैरे, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, आयोजक नेपाल मानव अधिकार चलचित्र केन्द्रका अध्यक्ष पाण्डव खत्रीलगायतले अवार्ड वितरण गरे। फिचर डकुमेन्टी अवार्ड ह्वेर वी युज्ड टू स्लिप वाईले जित्यो । फिचर फिक्सनतर्फको अवार्ड पायल कपाडिया निर्देशित अल वी इम्याजिन एज लाइटले जितेको छ।
सामूहिक अधिकार नारासहित २४ मंसिरदेखि नेपाल चलचित्र बोर्डको सभाहल र नेपाल पर्यटन बोर्डको सभाहलमा महोत्सव चलेको थियो। महोत्सवमा विभिन्न देशका ५३ फिल्म प्रदर्शन गरिएको थियो। महोत्सवअघि भारतका चर्चित फिल्ममेकर निलोतपल मजुम्दरले चार दिने वर्कसपसमेत सञ्चालन गरेका थिए। जसमा नेपाल, बंगलादेश, भारत, पाकिस्तानलगायत देशका युवा फिल्ममेकर सहभागी थिए।
महोत्सवको सुरुवातमा ‘अल वी इम्याजिन एस लाइट’ र अन्तिम दिन ‘इन द बेली अफ अ टाइगर’ प्रदर्शन गरिएको थियो। कान्स, बर्लिनलगायत विश्वका प्रतिष्ठित फेस्टिभलहरूमा अवार्ड जितिसकेका वृत्तचित्र तथा चलचित्र यस महोत्सवमा प्रदर्शन गरिएको थियो।