काठमाडौं । काठमाण्डु गुर्खाजलाई पाँच विकेटले पराजित गर्दै जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिगको प्ले अफमा स्थान सुरक्षित गरेको छ । ६ खेलमध्ये पाँचवटामा जित हासिल गर्दै जनकपुरले प्लेअफमा स्थान बनाएको हो । टस हारेर ब्याटिङमा उत्रिएको काठमाडौं १०१ रनमै अलआउट भएको थियो । जनकपुरका स्पिनर ललित राजवंशी र शेर मल्लले उत्कृष्ट बलिङ गरे ।
ललितले ४ ओभरमा केवल ८ रन खर्चेर ३ विकेट लिए भने शेरले पनि ३।३ ओभरमा ११ रन खर्चेर तीन विकेट हात पारे । १०२ रनको सामान्य लक्ष्य जनकपुरले १५।५ ओभरमा ५ विकेट गुमाएर भेट्टायो । जनकपुरका लागि जेम्स निसमले १७ बलमा सर्वाधिक २७ रन बनाए । हर्ष ठाकरले २५ र लहिरु मिलान्था २३ रन बनाएर आउट भए । जनकपुरका नेपाली ब्याटरहरु चल्न सकेनन् । आसिफ सेखले ९ बलमा २ रन मात्रै जोड्न सके भने कप्तान अनिल साह पनि १० बलमा ११ रन बनाएर आउट भएका थिए ।
काठमाडौंका करण केसीले दुई विकेट लिए । जनकपुरका लागि ललितकुमार राजवंशी र शेर मल्लले समान तीन तथा मोहम्मद मोहसिनले दुई विकेट हात पारे। किशोर महतो, अरनिको यादवले एक विकेट लिएका थिए। यसअघि आज नै भएको पहिलो खेलमा विराटनगर किंग्सलाई सुपर ओभरमा हराउँदै पोखरा एभेन्जर्सले एनपिएलमा दोस्रो जित निकाल्यो। अब शुक्रबार पहिलो खेलमा लुम्बिनी लायन्स र कर्णाली याक्स तथा दोस्रो खेलमा विराटनगर किंग्स र चितवन राइनोजबिच प्रतिस्पर्धा हुनेछ।