पोखरा । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरणसम्बन्धी मुद्दामा रास्वपा सभापति रवि लामिछानेलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न कास्की जिल्ला अदालतले अनुमति दिएको छ । बिहीबार न्यायाधीश चन्द्रकान्त पौड्यालको इजलासले उस्तै कसुरमा पक्राउ परेका गोर्खा मिडिया नेटवर्कका पूर्वसञ्चालक तथा पूर्वडीआईजी छविलाल जोशी, लीला पछाईं, रामबहादुर खनाल र कृष्णबहादुर गुरुङलाई समेत म्याद थप गरेको सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए ।
अनुसन्धानका क्रममा लामिछानेलाई यसअघि रुपन्देही, काठमाडौं, चितवन र पर्सा पुर्याएर बयान लिएको थियो । लामिछानेलाई जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा राखिएको छ । उनी कात्तिक २ मा काठमाडौंबाट पक्राउ परेका थिए । हिरासतमा राखेर अनुसन्धानका लागि अब ९ दिन बाँकी रहेकोमा प्रहरीले अर्कोपल्ट अभियोगपत्र लैजानै तयारी गरेको छ । सहकारी ठगी प्रकरणमा गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका रविलाई पछिल्लो पटक थपिएको ४ दिनको म्याद आज सकिने भएकाले फेरि अदालत उपस्थित गराउन लागिएको हो ।
सहकारी सम्बन्धि छानबिन गर्न गठित विशेष संसदीय समितिको सिफारिसमा सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका लामिछानेसहितलाई सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान भइरहेको छ । रवि संलग्न रहेका भनिएका सहकारी रहेको भन्दै पक्राउ पुर्जी जारी भएका जिल्लामा रविको बयान गराइएको छ । बुधबारमात्र रविलाई पर्सा हुँदै काठमाडौं ल्याइएको थियो ।
संसदीय समितिको प्रतिवेदनले पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्था, काठमाडौंको स्वर्णलक्ष्मी सहकारी संस्था, साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था, वीरगञ्जको सानो पाइला बचत तथा ऋण सहकारी संस्था र नेपालगञ्जको समानता सहकारीको रकम गोर्खा मिडियामा लगेर अपचलन गर्न रविको पनि संलग्नता देखाएको छ र ती सबै ठाउँमा रविको बयान गराइएको छ । सूर्यदर्शन सहकारीबाट ५ करोड ५८ लाख ९ हजार रुपैयाँ गोर्खा मिडियामा गएको देखिन्छ । जीबी राई नेतृत्वको देशभरका सहकारीबाट ६५ करोड प्रत्यक्ष रुपमा गोर्खा मिडिया नेटवर्कमा गएको समितिको प्रतिवेदनले देखाएको छ ।
समितिले गोर्खा मिडियामार्फत रकम अपचलन भएको भन्दै जीवी, रवि, छविलाल र कुमार रम्तेललाई कारबाही गर्न सिफारिस गरेको थियो । त्यसमध्ये जीवी फरारै छन् भने रवि र छविमाथि अनुसन्धान भइरहेको छ । झण्डै डेढ अर्ब अपचलन भएको सूर्यदर्शन सहकारीका कोषाध्यक्षसमेत रहेका कुमार रम्तेल भने पुर्पक्षका लागि कास्की कारागारमै थुनामा छन् ।त्यस्तै पूर्वडीआईजी तथा गोर्खा मिडियाका पूर्वउपाध्यक्ष छविलाल जोशी, जिवी राईका साझेदार रामबहादुर खनाल र जिवीसँग जोडिएकी लिला पछाइलाई पनि आज अदालतमा उपस्थित गराउन लागिएको छ । लामिछानेको यसअघि कास्की, रूपन्देही, काठमाडौं, चितवनमा बयान लिइएको थियो।