काठमाण्डौ । कोरिया अन्तर्राष्ट्रिय सहयोग निकाय ९कोइका० को आर्थिक सहयोग तथा युएनएफपिएको प्राविधिक सहयोगमा मधेश प्रदेशमा सेफ गर्ल्स परियोजना सुरु भएको छ। यसका लागि कोइकाले ६६ लाख अमेरिकी डलर सहयोग उपलब्ध गराउनेछ। यसमध्ये २२ लाख अमेरिकी डलर मधेश प्रदेशमा किशोरीहरूलाई हानिकारक अभ्यासहरू र लैंगिक हिंसाबाट जोगाउन, उनीहरूलाई डिजिटल प्रविधिको प्रयोगमा सहयोग हुनेछ।
नेपालस्थित संयुक्त राष्ट्रसंघीय कार्यालयका अनुसार परियोजनाले विद्यालयभित्र र बाहिरका किशोरकिशोरीसम्म बृहत् यौनिकता शिक्षाको पहुँच पुर्याउन तथा लैंगिक हिंसा रोकथाम र सम्बोधनका लागि स्थानीय तहका सेवाहरूलाई बलियो बनाउन सहयोग पुर्याउनेछ। परियोजनाले संघीय तथा प्रदेशका मुख्य सरोकारवाला मन्त्रालय र स्थानीय तहका सरोकार निकायहरूसँग सहकार्य गर्दै अगाडि बढ्नेछ।
कोरियाका लागि कोइकाका राष्ट्रिय निर्देशक मुहेओन कङ र नेपालका लागि युएनएफपिएकी प्रतिनिधि वोन यङ हङको उपस्थितिमा परियोजना सुरु भएको थियो। कोइकाका निर्देशक कङले कार्यक्रममा नेपालको विकास यात्रामा कोरिया र नेपालको साझेदारीको महत्वमा जोड दिए। ‘यो वर्ष नेपाल र कोरियाबिच कूटनीतिक सम्बन्धका ५० वर्ष पूरा भएको ऐतिहासिक अवसर हो। यो अवधिमा हाम्रा देशहरूले आपसी सम्मान, सहकार्य र विकासका लागि साझा प्रतिबद्धतामा आधारित बलियो सम्बन्ध निर्माण गरेका छन्,’ उनले भने, ‘यो परियोजनाले लैंगिक समानतामा लगानीको गति तीव्र पार्दै दिगो सामाजिक र आर्थिक परिवर्तन सुनिश्चित गर्न थप योगदान पुर्याउनेछ।’
युएनएफपिए नेपालकी प्रतिनिधि वोन यङ हङले भने, ‘यो साझेदारी विभिन्न तहमा परिवर्तनको उत्प्रेरक बन्न सक्छ। नेपाल सरकारले हासिल गरेका बलियो उपलब्धिहरूलाई अघि बढाउँदै, संघीय, प्रदेश र स्थानीय सरकारको नेतृत्वमा किशोरी र युवतीहरूलाई परिवर्तनका संवाहकका रूपमा स्थापित गर्ने यो परियोजनाको महत्त्वपूर्ण अवसर हो।’ यो परियोजनाले मधेश प्रदेशका किशोरीहरूका लागि मात्र होइन, समग्र नेपालका लागि रूपान्तरणकारी परिवर्तन ल्याउने सम्भावना बोकेको उनको भनाइ थियो।