काठमाण्डौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा र लक्जमबर्गका उपप्रधानमन्त्री, विदेश एवं वैदेशिक व्यापारमन्त्री जेभियर बेटेलबिच लक्जमबर्गमा भेटवार्ता भएको छ। बेटेल सन् २०१३ देखि २०२३ सम्म लक्जमबर्गको प्रधानमन्त्री पनि थिए। लक्जमबर्ग सिटीस्थित उनको कार्यकक्षमा भएको भेटवार्तामा नेपाल–लक्जमबर्ग सम्बन्धका विविध पक्षका साथै आपसी हित, साझा चासो र सहकार्यका बारेमा कुराकानी भएको थियो।
त्यस अवसरमा उनीहरूले नेपालको विकास प्राथमिकता तथा नेपाल र लक्जमबर्गबिचको आर्थिक सहकार्यका बारेमा विचार आदानप्रदान गरेका थिए। साथै, वार्ताका क्रममा विश्वव्यापी तापमानमा भइरहेको वृद्धि र यसका कारण परेको जलवायु परिवर्तनको असरका बारेमा पनि कुराकानी भएको थियो।
नेपाल जलवायु परिवर्तनको असरको चपेटामा परेको र यसका कारण नेपालले अकल्पनीय क्षति व्यहोर्नु परिरहेकाले अन्तर्राष्ट्रिय समुदायसँग सहयोगका लागि अपिल गरेको मन्त्री डा। देउवाले जानकारी छिन्। मन्त्री डा. देउवाले नेपाल सन् २०२६ मा एलडिसीबाट ग्राजुएट हुन लागेकाले त्यसपछिको अवस्थामा नेपाललाई आर्थिक, प्राविधिकलगायतका क्षेत्रमा आवश्यक सहयोगका लागि पनि मन्त्री बेटेललाई आग्रह गरेकी थिइन्।
नेपाल अतिकम विकसित देशको श्रेणीबाट मध्यमस्तरको राष्ट्रका रूपमा स्तरोन्नति हुन लागेकाले यसलाई दीर्घकालीन र सहज बनाउने रणनीतिमा युरोपियन युनियनलगायत नेपालका दाता राष्ट्र एवं संस्थाहरूको सहयोगको अपेक्षा नेपालले गरिरहेको र त्यसमा लक्जमबर्गको पनि सहयोग र समर्थनको अपेक्षा गरिएको मन्त्री डा.देउवाले बताइन्।
भेटवार्ताका क्रममा मन्त्री डा. देउवाले नेपाल आन्तरिक रूपमा शान्ति प्रक्रिया टुंग्याउने अन्तिम चरणमा पुगेको जानकारी पनि गराएकी थिइन्। साथै, उनले नेपालले संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद् र मानव अधिकार आयोगको सदस्यमा उम्मेदवारी दिन लागेकाले त्यसका लागि सहयोग गर्न लक्जमबर्गलाई आग्रह गरेकी थिइन्।