काठमाण्डौं । लगातार तिन खेलमा तिनवटै खेल जितेर सुदुरपश्चिम रोयल्स अंक तालिकाको शिर्ष स्थानमा पुगेको छ । हुनत जनकपुरले पनि तिनवटै खेल जितेको छ । तर रनरेटका आधारमा सुदुरपश्चिम शिर्ष स्थानमा पुगेको हो । आजको खेलमा इंग्ल्यान्डका २६ वर्षीय सैफ जैबको अलरान्ड प्रदर्शनले सुदूरपश्चिम रोयल्सले एनपिएलमा लगातार तेस्रो जित हात पारेको हो । । सुदूरपश्चिमले लुम्बिनीलाई ४५ रनले हराएको छ । उक्त खेलमा सैफले ९० रन बनाउनुको साथै तीन विकेट समेत लिएका थिए ।
लगातार तेस्रो जितपछि सुदूरपश्चिमको प्लेअफ सम्भावना बलियो बन्यो । लगातार तेस्रो हारपछि लुम्बिनीको प्लेअफ सम्भावना निकै कमजोर बनेको छ । शनिबार कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर ब्याटिङ गरेको सुदूरपश्चिमले ४ विकेट गुमाउँदै एक सय ८८ रनको लक्ष्य प्रस्तुत गर्यो । प्रत्युत्तरमा लुम्बिनीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै एक सय ४२ रन बनायो । प्रतियोगितामा सुदूरपश्चिमको लगातार तेस्रो जित हो । पहिलो खेलमा काठमाडौंलाई ७३ र विराटनगरलाई ९० रनले हराएको थियो । सुदूरपश्चिम र जनकपुरको समान ६ अंक छ । लुम्बिनी पहिलो खेलमा पोखरासँग १० र विराटनगरसँग २ विकेटले पराजित भएको थियो । आठ टिम सहभागी लिग तालिकामा लुम्बिनी पुछारमा छ । लु
म्बिनीको लागि विवेक यादवले ५४ बलमा ३ चौका र ७ छक्कासहित ७७ रन बनाए । विवेकले १७।३ ओभरमा ४२ बलमा दुई चौका र पाँच छक्कासहित अर्धसतक बनाउँदा लुम्बिनीले ११९ रन बनाएको थियो । विवेक प्रतियोगितामा अर्धसतक बनाउने १२औं खेलाडी बने । समग्रमा नेपालबाट अर्धसतक बनाउने सातौं खेलाडी हुन् । सन्दीप जोरा र विवेक यादवले ३७ रनको साझेदारी गर्नुबाहेक अन्य ठूलो स्कोरमा साझेदारी हुनै सकेन । सन्दीप पनि २६ बलमा एक छक्कासहित २० रन बनाएर आउट भएका थिए । यसअघि ३।३ ओभरमा लुम्बिनीले १९ रन जोड्दा पाँच विकेट गुमाएको थियो । त्यसअघि १।५ ओभरमा ९ रन जोड्दा तीन विकेट गुमायो । ओपनर अर्जुन साउद गोल्डेन डकआउट भए । भारतलाई यु१९ विश्वकप जिताएका उन्मुक्त चन्द पनि चार, कप्तान रोहितकुमार पौडेल ५, टम मुर्स ७, सान विन जफर गोल्डेन डक, दीनेश अधिकारी १४, रेमन सिमोन्ड्स डकआउट भएपछि लुम्बिनी लगातार तेस्रो हार बेहोर्न पुग्यो ।
सुदूरपश्चिमका ओपनिङ तिव्रगतिका बलर ब्रान्डम म्याकमुलेन र स्कट कुगुलेइनले पावर प्लेमा घातक बने । दक्षिण अफ्रिकामा जन्मिएर स्कटल्यान्डका लागि खेलिरहेका २५ वर्षीय म्याममुलेनले चार ओभरमा २१ रन खर्चिएर महत्वपूर्ण तीन विकेट लिए । न्युजिल्यान्डका लागि ३ टेष्ट खेलेका ३२ वर्षीय स्कटले चार ओभरमा १९ रन खर्चिएर २ विकेट लिएका हुन् । अर्धसतक बनाएका जैबले ४ ओभरमा ३३ रन खर्चिएर मध्यक्रमका तीन विकेट झारे । अभिनाश बोहराको नाममा एक विकेट रह्यो । पहिलो खेलमै पाँच विकेट लिएका नरेन साउद विकेट विहिन रहे । उनले ३ ओभरमा २९ रन खर्चिएका थिए ।
पहिलो इनिङमा इंग्ल्यान्डका २६ वर्षीय बायाँ हाते ब्याटिङ अलराउन्डर सैफ जैबले ६१ बलमा ६ चौका र ५ छक्कासहित सर्वाधिक ९० रन बनाएका थिए । जैबले यसअघि विराटनगरविरुद्ध १४ तथा काठमाडौंविरुद्ध ११ रन मात्रै बनाएका थिए । उनी रोहितकुमार पौडेल र आन्द्रेस गौसपछि एनपिएलमा ९० रन कटाउने तेस्रो खेलाडी हुन् । अमेरिकाबाट खेल्दै आएका गौसले भने लुम्बिनीविरुद्ध सतक नै बनाए ।
कप्तान दीपेन्द्रले १९ बलमा चार चौका र २ छक्कासहित अविजित ३९ रन बनाए । दीपेन्द्र र जैवबीच तेस्रो विकेटको लागि ५३ रनको साझेदारी भएपछि सुदूरपश्चिमले विहानी खेलमै ठूलो स्कोर बनाएको थियो । अर्का ओपनर विनोद भण्डारी १७ रन बनाएर आउट भएका थिए । जैव र विनोदबीच पहिलो विकेटको लागि ४९ रनको साझेदारी भएको थियो । तेस्रो नम्बर क्रिजमा आएका ब्रान्डन म्याकमुलेनले २३ रनको योगदान गरे । आरिफ शेख गोल्डेन डक आउट भए । स्कट कुगेलेइनले ६ बलमा एक छक्कासहित अविजित ११ रन बनाएका हुन् ।