काठमाडौं । प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणको क्रममा भारतले नेपाललाई दुई खर्ब ४० अर्ब भारु आर्थिक सहयोगको घोषणा गरेको छ । आज बालेनसँगको भेटघाटपछि आयोजित संयुक्त पत्रकार सम्मेलनको क्रममा मोदीले आर्थिक सहयोग घोषणा गरेका हुन् । त्यसमध्ये कति सहुलियतपूर्ण ऋण ( लाइन अफ क्रेडिट) र कति अनुदानको हिस्सा रहने घोषणा गरिएको छैन ।
नेपालले भारतसँग २ खर्ब भारु आर्थिक सहयोग दिन अनुरोध गरेको थियो । १ खर्ब भारु ऋण र १ खर्ब अनुदान दिन नेपालको अनुरोध थियो । भारतले नेपालले अनुरोध गरेअनुरुप नै सहयोग घोषणा गरेको हो । १ खर्ब अनुदानमध्ये ५० अर्ब भारु रसुवा बाढीपछिको पुनर्निर्माणमा लगाउने प्रस्ताव नेपालको थियो । त्यस्तै, बुटवल–पोखरा एक्सप्रेस वे बनाउन थप ५० अर्ब भारु सहयोग नेपालले मागेको थियो । तर कुन परियोजनालाई कति रकम सहयोग हुने मोदीले खुलाएका छैनन् ।
भारतले नेपालका लागि हालसम्म चारवटा लाइन अफ क्रेडिट घोषणा गरिसकेको छ । नेपालले दुई वर्षअघि २०८१ मा ९० करोड डलर लाइन अफ क्रेडिट रद्द गरेको थियो । यसअघि प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २०१४ मा नेपाल भ्रमण गर्दा १ अर्ब अमेरिकी डलर सहयोग घोषणा गरेको थिए । सन् २०१५ मा नेपालमा ठूलो भूकम्प गएपछि त्यसलाई भूकम्पको पुनर्निर्माणका लागि गर्ने सहयोगमा रुपान्तरण गरिएको थियो ।
त्यो एक अर्ब डलरमध्य २५ करोडलाई अनुदान र ७५ करोडलाई ऋण बनाइएको थियो । २५ करोड डलर सहयोग भूकम्पपछिको पुनर्निर्माणमा खर्च भयो । तर ७५ करोड डलर लाइन अफ क्रेडिट मध्ये ५ करोड डलर मात्रै खर्च हुनसक्यो ।
