काठमाण्डौं । देउवा पक्षीय नेपाली कांग्रेसको मोरङ अधिवेशन मंसिर १ गते विराटनगरमा आयोजना गरिने भएको छ। नेपाली कांग्रेस देउवा पक्षीय नेता केदार कार्कीका अनुसार मंसिर १ गते विराटनगरमा जिल्ला अधिवेशन गर्न लागिएको हो। अधिवेशनको कांग्रेस नेता डा शशांक कोइरालाले उद्घाटन गर्ने कार्यक्रम रहेको कार्कीले बताए।
उनका अनुसार पार्टीले मोरङका ६ वटा संघीय निर्वाचन क्षेत्र, १२ वटा प्रदेश निर्वाचन क्षेत्र, १७ वटा पालिका र १५९ वटै वडाको अधिवेशन सम्पन्न गरिसकेको छ। अधिवेशनमा ४ हजार ५ सयजना क्षेत्रीय प्रतिनिधिहरू सहभागी हुने छन्। कार्कीले आफूहरूको अधिवेशन नै नेपाली कांग्रेसको नियमित महाधिवेशन भएको दाबी पनि गरेका छन्।
उनले भने, ‘हामी कुनै पक्षीय नभइ नेपाली कांग्रेसको नियमित अधिवेशन पक्षीय हौं।’ उनका अनुसार अधिवेशनले १ सय २५ सदस्यीय नयाँ जिल्ला कार्यसमिति निर्वाचित गर्ने छ। अधिवेशनमा सभापतिका लागि सुवास पौडेल, खगेन्द्र थापा ( खेम ) र विनायक पन्तले दाबी गर्दै आएका छन्।
