काठमाडौँ । सूर्य उपासनाको महान् पर्व ‘छठ’ आज देशभरका खोला, नदी तथा जलाशय किनारमा उल्लासपूर्वक मनाइँदै छ। चार दिनसम्म विधिपूर्वक मनाइने यस पर्वको मुख्य दिन आज व्रतालुहरूले नदी वा पोखरीको चिसो पानीमा उभिएर अस्ताउँदो सूर्यलाई श्रद्धापूर्वक अर्घ्य अर्पण गर्दैछन् । बिहानैदेखि देशैभरका नदी किनार तथा जलाशयहरूमा भक्तजनको भीड लागेको छ।
तराई(मधेसका प्रमुख स्थलहरूमा विशेष चहलपहल देखिएको छ। विशेषगरी प्रसिद्ध धार्मिक तथा सांस्कृतिक सहर जनकपुरको गंगासागर घाटमा घाटहरूलाई आकर्षक ढङ्गले सिँगारेर भव्य रूपमा यो पर्व मनाइएको छ। जताततै भक्तिभावले ओतप्रोत भक्तजनको उपस्थिति र झिलिमिलीले वातावरणलाई पूर्ण रूपमा छठमय बनाएको छ।
ऐतिहासिक तथा पौराणिक महत्त्व
लोकसंस्कृति र प्रकृतिको पुजाका रूपमा चिनिने छठ पर्वको ऐतिहासिक एवं पौराणिक पृष्ठभूमि निकै गहिरो छ। ऐतिहासिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रोपदीसहित पाँच पाण्डवले अज्ञातवासमा रहँदा सो गुप्तवास सफल होस् भनी सूर्यदेवको आराधना गरेका थिए। उनीहरू विराट राजाको दरबारमा बास बसेको समयदेखि नै यो परम्पराको थालनी भएको जनविश्वास छ।
त्यस्तै, ‘सूर्य पुराण’का अनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूयाले अटल सौभाग्य र पतिप्रेम प्राप्तिको कामना गर्दै छठ व्रत गरेको उल्लेख छ। त्यसैबेलादेखि छठ व्रत लिने परम्परा सुरु भएको मानिन्छ।
विज्ञान, स्वास्थ्य र प्रकृतिको आराधना
छठ पर्व धार्मिक अनुष्ठान मात्र नभई विज्ञान र प्रकृतिको उपासना पनि हो। संसारका सम्पूर्ण भौतिक विकास र जीवजन्तुको अस्तित्व प्रत्यक्ष रूपमा सूर्यमाथि नै निर्भर छ। वनस्पति, रुख(बिरुवादेखि प्राणीहरूको जीवनरक्षाका लागि सूर्यको प्रकाश अपरिहार्य छ।
चिकित्सा विज्ञानमा समेत सूर्यको किरणको महत्त्वबारे कैयौँ ग्रन्थ लेखिएका छन्। सूर्यको किरणबाट कैयौँ असाध्य तथा अक्षय रोगहरूको आश्चर्यजनक उपचारसमेत सम्भव हुने मान्यता रहिआएको छ। पुराणहरूमा पनि श्रीकृष्ण तथा महर्षि दुर्वासाको सरापबाट कुष्ठरोगबाट पीडित बनेका साम्वले सूर्यको आराधना गरेरै रोगबाट मुक्ति पाएको प्रसंग पाइन्छ।
जनविश्वास र पारिवारिक कल्याण
छठ पर्वमा व्रत बस्नाले दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने दृढ जनविश्वास छ। यस पर्वमा प्रकृतिमा उत्पादित झुप्पा–झुप्पा फलफूलहरू सूर्य देवतालाई चढाउँदा उहाँ प्रसन्न भई व्रतालुका कुटुम्बसहित सम्पूर्ण सन्तानको भलो र कल्याण हुने धार्मिक मान्यता छ। विशेष कारणवश व्रत बस्न नसक्नेहरूले पनि अन्य व्रतालुहरूमार्फत आफ्नो मनोकांक्षा पूरा गराउने प्रचलनले यस पर्वको सामाजिक र सामूहिक महत्त्वलाई अझ उजागर गरेको छ।
प्रकृति, स्वास्थ्य र सूर्यको उपासनाको प्रतीक बनेको छठ पर्वले पारिवारिक सु–सम्बन्ध, आपसी सद्भाव र धार्मिक सहिष्णुतालाई अझ प्रगाढ बनाउँदै आएको छ।
