काठमाडौं। नेपाल प्रिमियर लिग ( एनपीएल ) को तेस्रो संस्करणमा पोखरा एभेन्जर्सले पहिलो जित निकालेको छ। सोमबार सम्पन्न खेलमा कर्णाली याक्सलाई ६३ रनले पराजित गरेको हो। पोखराले दिएको २१८ रनको लक्ष्य पछ्याएको कर्णाली १८.३ ओभरमा १५४ रनमै अलआउट भयो। यस जितसँगै पोखराले लगातार चार हारपछि पहिलो सफलता हात पारेको छ। अर्कोतर्फ कर्णालीले पाँच खेलमा तेस्रो हार बेहोरेको छ।
कर्णालीले यसअघि जनकपुर बोल्ट्स र विराटनगर किंग्सलाई पराजित गरेको थियो। जनकपुरलाई १९ रनले हराएको कर्णालीले विराटनगरमाथि चार विकेटको जित निकालेको थियो। तर‚ काठमाडौं गोर्खाजसँग चार विकेट र सुदूरपश्चिम रोयल्ससँग ३९ रनले पराजित भएको थियो। पोखरासँगको नतिजासँगै कर्णालीको हार संख्या तीन पुगेको छ।
पोखराको भने यो प्रतियोगितामा पहिलो जित हो। यसअघि टोली सुदूरपश्चिम रोयल्ससँग ६ विकेट, जनकपुर बोल्ट्ससँग नौ रन, लुम्बिनी लायन्ससँग आठ विकेट र चितवन राइनोजसँग ३० रनले पराजित भएको थियो। पाँचौं खेलमा कर्णालीलाई हराउँदै पोखराले हारको शृंखला तोडेको हो। पाँच खेलबाट पहिलो जित निकालेको पोखराले दुई अंक जोडेको छ। कर्णाली भने पाँच खेलमा दुई जित र तीन हारसहित चार अंकमा छ।
२१८ रनको लक्ष्य पछ्याउने क्रममा कर्णालीका कप्तान सोमपाल कामी पनि अनौठो तरिकाले आउट भए। उनले १९ बलमा एक चौकासहित २१ रन बनाएका थिए। ब्याटबाट खेलेको बल पिचमा बाउन्स भएर फर्किएपछि उनले पुनः ब्याटले प्रहार गरेका थिए। त्यसपछि पोखराका विकेटकिपर अर्जुन घर्तीसहितका खेलाडीले अपिल गरे। टेलिभिजन अम्पायरले रिभ्यु गरेपछि उनलाई ‘अब्स्ट्रक्टिङ द फिल्ड’ नियमअनुसार आउट दिएका थिए।
कर्णालीका पवन सर्राफले सर्वाधिक ३२ रन बनाए। दीपक डुम्रेले २२ र अरिफुल इस्लामले २४ रन जोडे। पोखराका महेदी हसनले तीन विकेट लिए। धनञ्जय लक्षान, कुशल भुर्तेल र विपिन खत्रीले समान दुई विकेट हात पारे।
