काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले स्थानीय तहको निर्वाचनलाई ध्यानमा राखेर पार्टीका प्रदेश र जिल्ला अधिवेशनको मिति तय गरिने बताएका छन्। पोखरामा आयोजित एक कार्यक्रममा बोल्दै केन्द्रीय समिति बैठकमा छलफल गरेर प्रदेश र जिल्लाको अधिवेशनको मिति तय गरिने बताए। उनले भने, ‘हामीले केही समयपछि प्रदेशको अधिवेशन गर्नुपर्ने छ, जिल्लाको अधिवेशन गर्नुपर्ने छ। अब केन्द्रको बैठक राखेर साथीहरूसँग सल्लाह गर्छु। स्थानीय चुनाव पनि आउँदै छ, त्यसलाई समेत ध्यानमा राखेर तिथिमिति तय गर्छौँ।’
नेपालको इतिहासमा धेरै प्रतिनिधि एकै ठाउँमा भेला भएर सम्पन्न भएको पहिलो अधिवेशन भएको दाबी गरे। अधिवेशनको व्यवस्थापन चुनौतीपूर्ण भए पनि सबैको साथ र सहयोगमा सफलतापूर्वक सम्पन्न भएको उनको भनाइ छ। अधिवेशनबाट नेतृत्व चयन गर्नुका साथै पार्टीले गरेका निर्णयलाई व्यवहारमा कार्यान्वयन गर्नुपर्ने उनले बताए। पार्टीको आन्तरिक निर्वाचनमा प्रतिस्पर्धा भए पनि त्यसलाई आम निर्वाचनको जस्तो जित्नेले सबै पाउने र हार्नेले सबै गुमाउने प्रक्रियाका रूपमा लिन नहुने बताए।
उनले थपे, ‘पार्टीभित्र सबैले आफ्नो भूमिका र स्थान पाउनुपर्छ। केन्द्रीय समितिमा प्रतिस्पर्धाका कारण जिम्मेवारीबाट बाहिरिएका योग्य साथीहरूलाई समेत समेटेर अघि बढ्नुपर्नेछ। पार्टीभित्र त सबैले स्पेस पाउनुपर्छ। जित्नेले हस्तिनापुर पाएको जस्तो र हार्ने चाहिँ गयो भन्ने जस्तो होइन।’
उनले प्रतिस्पर्धामा सहभागी भएका नेताहरूले त्यसबाट अनुभव र सिकाइ प्राप्त गर्ने उल्लेख गर्दै विभिन्न व्यक्तिका फरक फरक योग्यता, अनुभव र क्षमतालाई पार्टीको हितमा उपयोग गर्नुपर्ने बताए। पार्टीभित्रको तिक्तता, कटुता र असहिष्णुता हटाउनुपर्ने भन्दै प्रतिस्पर्धाका कारण एकअर्कासँग सहकार्य गर्न नसक्ने अवस्था अन्त्य गर्नुपर्ने धारणा राखे। पार्टीको अधिवेशनमा वडादेखि केन्द्रसम्म संस्थागत रूपमा गुट निर्माण हुने परिपाटी अन्त्य गर्ने प्रयास गरिएको बताए।
