काठमाडौं । इजरायलमा आज मंगलबार ( २७ अक्टोबर ) आम निर्वाचन हुँदैछ । निर्वाचनको परिणामले वर्तमान प्रधानमन्त्री बेन्जामिन नेतान्याहु सत्तामा कायम रहने वा देशमा नयाँ सरकार गठन हुने भन्ने तय गर्नेछ । सन् १९९६ देखि हालसम्मको बीचमा नेतान्याहु विभिन्न अवधिमा करिब १७ वर्षभन्दा बढी समय इजरायलको प्रधानमन्त्री भइसकेका छन् ।
उनका समर्थक हरुले उनलाई सुरक्षा मामिलामा बलियो नेताका रूपमा प्रस्तुत गर्दै आएका छन् । तर आलोचकहरूले सन् २०२३ अक्टोबर ७ मा हमासले गरेको आक्रमणका बेला सुरक्षा व्यवस्थामा भएको कमजोरी र उनीमाथि लागेका भ्रष्टाचारसम्बन्धी आरोपलाई लिएर प्रश्न उठाउँदै आएका छन् ।
गाजामा युद्धका क्रममा भएका कथित युद्ध अपराधसम्बन्धी आरोपमा अन्तर्राष्ट्रिय फौजदारी अदालत ( आईसीसी) ले नेतान्याहुविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । इजरायलको संसद् नेसेटमा कुल १२० सिट छन् । सरकार गठन गर्न कम्तीमा ६१ सांसदको समर्थन आवश्यक पर्छ । इजरायलमा मतदाताले प्रत्यक्ष रूपमा कुनै एक उम्मेदवारलाई नभई राजनीतिक दललाई मत दिन्छन् । दलहरूले प्राप्त गर्ने मतको अनुपातका आधारमा संसदमा सिट बाँडफाँट गरिन्छ ।
यस व्यवस्थाका कारण कुनै एक दलले स्पष्ट बहुमत प्राप्त नगरेको अवस्थामा सरकार गठनका लागि विभिन्न दलबीच गठबन्धन आवश्यक पर्छ । त्यसैले निर्वाचनमा सबैभन्दा बढी मत प्राप्त गर्ने दलको मात्र नभई सम्भावित गठबन्धनको अंकगणितले पनि नेतान्याहुको राजनीतिक भविष्य निर्धारण गर्नेछ ।
